स्थानीय पाठ्यक्रमको तयारीमा कुश्मा नगरपालिका

माघ २९ गते, पर्वत । पर्वतका स्थानीय तहले स्थानीय पाठ्यक्रमलाई विस्तारै कार्यान्वयनमा लैजाने प्रयास गरिरहेका छन् । फलेवास नगरपालिकाले आउँदो शैक्षिक सत्रमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यालयमा लैजाने तयारी गरिरहेको छ । जलजला गाउँपालिकाले पनि कार्यदल बनाएर पाठ्यक्रम निर्माणको काम गरिरहेको छ । केही स्थानीय तहले पाठ्यक्रम निर्माणको प्रगतिबारेमा जानकारी दिँदै आएका छन् भने कोहीले आन्तरिकरूपमा नै तयारी गरिरहेका छन् ।

पर्वतको सदरमुकाम रहेको र अन्य स्थानीय तहका लागि नमूनाका रूपमा प्रस्तुत हुनसक्ने कुश्मा नगरपालिकाले पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाको सुरुआत गरेको छ । सरोकारवालालाई भेला पारेर उनीहरूबाट लिएका सुझावका आधारमा पाठ्यक्रम तयार पार्ने गरी शिक्षक, विज्ञ, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीबीच पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताउनुभयो ।

“स्थानीय पाठ्यक्रमले समेट्नुपर्ने विषय, ज्ञान, सीप, अवधारणा तथा वस्तुगत स्थितिका बारेमा पाठ्यक्रम विज्ञ, जनप्रतिनिधि र कर्मचारीका बीचमा अन्तक्र्रिया गरेर सुझाव लिएका छौँ । नयाँ शैक्षिक सत्रमा कक्षा एकदेखि तीनसम्मको पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्छन”, उहाँले भन्नुभयो, “बजेटको अभावदेखि छोटो समयावधिका कारण नयाँ शैक्षिक सत्रमा कक्षा आठसम्म लागू गर्न नसकिने भएको हो । शैक्षिक सत्र २०८१ मा भने आठसम्म नै लागू गर्ने छौँ ।”

केही समयमा नै विज्ञहरूसँग सम्झौता गरेर पाठ्यक्रमको प्रारम्भिक मस्यौदा तयार पारेर फेरि पनि सरोकारवालालाई राखेर मस्यौदामाथि छलफल गराइने छ । छलफलमा आएका सुझावका आधारमा संशोधन गरेपछि पाठ्यपुस्तक लेख्ने काम सुरु गरिने शिक्षा अधिकृत दीपक सुवेदीले बताउनुभयो ।

“नगरभित्र रहेका जातजाति, भाषा, संस्कार, रहनसहन, धार्मिकस्थल, पर्यटकीय क्षेत्र, जडीबुटी, वन्यजन्तु, खोलानाला, खनिज पदार्थ, स्थानीय पेसा, कृषि तथा घरेलु औजार, सकारात्मक सत्कार, सेवामूलक सङ्घ संस्था, स्थानीय खेलकुद, भोजन, झारफुक प्रथा, कटुवाल प्रथालगायतका विषयवस्तु राख्न सुझाव आएका छन् ।

नगरप्रमुख रामचन्द्र जोशीले पाठयक्रम विज्ञ, भाषा विज्ञ, प्राविधिक तथा शैक्षिक क्षेत्रका अनुभवी व्यक्तिमार्फत पाठ्यक्रमको प्रारुप तयार पार्न गृहकार्य अगाडि बढाएको बताउनुभयो । स्थानीय पाठ्यक्रम कर्मकाण्डी नभई व्यवहारिक र जीवनउपयोगी बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर