विराटनगरमा विद्यालयका बालिकासँग उपप्रमुख

फागुन ३ गते, विराटनगर । मोरङको विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरेको छ ।

न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ ।

कक्षा–९ र १० का बालिकाहरू सहभागी भएको कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिले गर्ने कार्यका विषयमा जानकारी गराएकी थिइन् । उपप्रमुख कार्कीले आफूलाई परेका समस्या खुलस्त राख्न बालिकाहरूलाई आग्रह गरिन् ।

अभिभावक र विद्यालयका शिक्षकहरूबाट बालिकाहरूलाई कस्तो व्यवहार भइरहेको छ भन्ने जानकारी लिन अभियान सञ्चालन गरिएको उपप्रमुख कार्कीले बताइन् । उपप्रमुखसित बालिकाहरूले खुलस्त आफ्ना कुरा गरेका थिए ।

बालिकाहरूलाई पेपर दिएर आफ्ना मनका कुरा लेख्न दिइएको थियो । बालिकाहरूले लेखेका कुरा आफूले अध्ययन गर्ने र विद्यालयले सुधार गर्नुपर्ने केही विषय भए सुधार्न निर्देशन दिने उपप्रमुख कार्कीले जानकारी दिइन् । अभियानमार्फत महानगरका सबै सामुदायिक विद्यालयमा पुगेर बालिकाहरूका समस्या बुझ्ने थपलियाले जानकारी दिइन् ।

सम्बन्धित खवर