बुधबार, कार्तिक १९, २०८२

आठराइमा याक्थुङ लिम्बु भाषा तथा लिपि सम्बन्धि तालिम सुरु

तेह्रथुम ११ चैत, आठराइ । तेह्रथुमको आठराइमा याक्थुङ लिम्बु भाषा तथा लिपि सम्बन्धि आधारभूत प्रशिक्षण तालिम आजबाट सुरु भएको छ । आठराइ गाउँपालिकाको सहयोग तथा नेपाल आदिवासी जनजाती संघ तेह्रथुमको आयोजनामा तालिम सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको प्रमुख आतिथ्यमा तथा गाउँपालिका उपाध्यक्ष बलिराज इङनामको विशेष आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि अध्यक्ष पाहिमले सबै जातिहरुको भाषा लिपी संस्कार संस्कृतिलाई संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्य अनुसार स्थानीय सरकारले यस्ता कार्यक्रमलाई जोड दिदै आएको बताउनु भयो ।

लोप हुँदै गएको भाषालाई बोल्न मात्रै नभइ लिखित रुपमा समेत विकास गर्न पालिकाले पहल गर्दै आएको विशेष अतिथि इङनामले बताउनु भयो । तालिमको उद्घाटन कार्यक्रममा आठराई गाउपालिका वडा न. १ का अध्यक्ष प्रेमराज फोम्बो, इलाका प्रशासन कार्यालय आठराइका प्रमुख रोशन अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तालिमको उद्घाटन प्रमुख अतिथि पाहिमले ब्यानर पढेर गर्नु भएको थियो । तालिममा कुबुङ सक, कुधक सक,केम्भेङ, मुक्भ्रेङ, चुक्सक र खानित लगायतको विषयमा प्रशिक्षण दिइने प्रशिक्षण सिर्जना सेनेहाङले बताउनु भयो । पालिकाको ७ वटै वडाका ३५ जनाको तालिममा सहभागी रहेको छ । आज देखी सुरुभएको तालिम एक हप्ता चल्ने छ । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य फौदराज लिम्बूले राख्नु भएको थियो । संघका अध्यक्ष टिआर सेनेहाङको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.