विराटनगरका १२ सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

बैशाख ११ गते, विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।

महानगरले मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–१२ स्थित सामुदायिक भवनमा बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत १ हजार २ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले बताए ।

महानगरका सबै वडाबाट नियन्त्रणमा लिइएका कुकुर सम्पर्क कार्यालयमा लगेर बन्ध्याकरण गरिनेछ । केन्द्रमा पशु विशेषज्ञबाट मेल र फिमेल कुकुरको बन्ध्याकरण गरिने उनले बताए । सालिन नेपालसँगको सहकार्यमा बन्ध्याकरण अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत महानगरको बजेटबाट ६ सय र सालिन नेपालको आर्थिक सहयोगमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने छ । बध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिनेछ ।

बन्ध्याकरण गरिएका कुकुरलाई मासु, अण्डालगायतका खानेकुरासमेत खुवाइने छ । विराटनगरमा सामुदायिक कुकुरको समस्या रहेकाले बन्ध्याकरण अभियान सञ्चालन गरिएको मेयर कोइरालाले बताए । महानगरले कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोपका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । बन्ध्याकरण र खोप लगाएका कुकुरलाई रिफ्लेक्टिभ वेल्टसमेत बाँधिनेछ ।

 

सम्बन्धित खवर