कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की विरुद्ध सचिवले दिए प्रशासनमा उजुरी

पूर्व मुख्य मन्त्री केदार कार्की / फायल तस्विर

८ साउन, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की विरुद्ध मन्त्रालयको सचिवले जिल्ला प्रशासनमा कार्यालय मोरङमा उजुरी दिएका छन् ।

आफूलाई शौचालयमा थुन्ने र कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा कार्की विरुद्ध मंगलबार उजुरी दिएको हो ।

उनले सुरक्षाको माग गर्दै कानुनी कारवाहीको माग गरेका छन । सचिव भट्टराईका अनुसार पूर्वमुख्यमन्त्री कार्कीले सोमबार साँझ ४ बजेर ५३ मिनेटमा आफूलाई फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएका हुन् ।

कुटपिट गर्ने धम्की आएपछि सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएको उनले बताएका छन ।

विराट गोल्डकपका लागि मुख्यमन्त्री हुँदा घोषणा गरेको २५ लाख रकम सचिवले रोकेको भन्दै कार्की आफूमाथि खनिएको भट्टराईको भनाइ छ ।

‘कुट्ने पिट्ने र शौचालयमा लगेर थुन्ने धम्की आयो, त्यसपछि मैले सुरक्षा माग गरेको हो, मलाई बेलुका ४ः५३ मा फोन आएको थियो, जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालयमा निवेदन दिएको छु,’ सचिव भट्टराईले भने, ‘पुरानो फाइललाई भुक्तानी दिन अर्थले सहमति दिएन, नदिएपछि त्यो रिस मलाई पोख्नु भएको होला उहाँले, अर्थ मन्त्रालयमा रोकिने कुरा त हामीलाई भन्नु भएन नि, कुरो बुझेर गर्नुपर्यो नि।’

पूर्वमुख्यमन्त्री कार्कीले भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

फुटबल प्रतियोगिता सम्पन्न भए पनि मन्त्रालयले रकम निकासा नदिएको भन्दै विराट गोल्ड कप ट्रष्टका पदाधिकारीहरूले पूर्व मुख्यमन्त्री कार्कीलाई सोमबार गुनासो गरेका थिए ।

 

सम्बन्धित खवर