लेटाङ र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

२७ वैशाख, लुम्बिनी । मोरङको लेटाङ नगरपालिका र भगवान गौतम वुद्धको जन्मस्थल रहेको लुम्विनी साँस्कृतिक नगरपालिकाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापना भएको छ ।

भगिनी सम्बन्ध स्थापना गर्नका लागि लेटाङ नगरपालिकाले राखेको प्रस्ताव स्विकार गर्दै लुम्विनी साँस्कृतिक नगरपालिकाले लेटाङ नगरपालिकालाई निमन्त्रणा गरेपश्चात लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलासहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुको टोली कार्यक्रममा सहभागी हुन लुम्विनी पुगेको हो ।

लुम्विनी साँस्कृतिक नगरपालिकाको कार्यालयमा आइतबार आयोजित विशेष समारोहका बिच लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती र लुम्विनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले संयुक्तरूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध स्थापना भएको छ ।

कार्यक्रममा लेटाङ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले १० वुँदे समझदारीपत्र वाचन गरेर सुनाएका थिए । समझदारीपत्रमा लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका मुख्य धार्मिक, साँस्कृतिक, प्राकृतिक लगायतका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्ने तथा पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

यसैगरि लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा उत्पादित मौलिक वस्तू तथा कृषि उपजहरुलाई एकआपसमा बजारीकरण गर्न सहयोग गर्ने, सिकाई आदान प्रदान गर्दै असल अभ्यासहरुलाई सँस्थागत गर्न सहजिकरण गर्ने, दैविक प्रकोप र प्राकृतिक विपत्तिमा एकआपसमा सहयोग आदान–प्रदान गर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ ।

कार्यक्रममा दुवै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एकअर्कालाई माला र टीका लगाइ दिएर मीत्रता गाँसिएको सन्देश दिएका थिए । यसैगरि दुवै नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारीहरुले एकअर्कालाई माला र टिका लगाएर आत्मियता साटासाट गरेका थिए ।

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले सँस्थागत सम्वन्धहरुले धेरै अर्थ राख्ने र महत्वपूर्ण हुने बताए । उनले भौतिक विकासलाई मात्र विकास मान्ने गरिएको भन्दै भावना जोड्ने, मन जोड्ने, सँस्कार जोड्ने र मान्यता जोड्ने कुराहरुलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भौतिक विकास अस्थायी कुराहरु रहेकाले सँस्कार र सँस्कृतिको विकास स्थायी र अर्थपूर्ण हुने बताए ।

कार्यक्रममा बोल्दै लुम्विनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानले दुई नगरपालिकाबीचको भगिनी सम्बन्ध सदासदाको लागि कायम रहने बताए । उनले भगीनी सम्बन्ध दुवै नगरपालिकाका लागि फलदायी रहने भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा लेटाङ नगरपालिकाका नगर उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ नगरपालिकाको संक्षिप्त परिचय दिइन् । उनीले खासगरि लेटाङको भौगोलिक अवस्थिति, पर्यटकीय क्षेत्रहरु, साँस्कृतिक पक्षहरु र कृषि उत्पादन लगायतका विषयमा जानकारी गराइन् ।

सम्बन्धित खवर