मोटरसाईकलबाट प्रचारप्रसार यात्राको समापन

पथरी । मोरङको पथरीशनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन थालेको मेचीकाली मोटरसाइकल यात्राको विहिबार समापन कार्यक्रम भएको छ ।

पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले पुस १७ गते मेचीपुलबाट थालेको यात्रा महाकाली पुगेर १४ दिनमा नगर फर्किएपछि उनीहरुलाई नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । आफ्नै नगरको प्रमुख पर्यटकीयस्थल शान्तिभूल्के सिमसार क्षेत्रहुँदै उहाँहरुले मेचीबाट महाकालीसम्मको गरी २ हजार ४ सय १३ किलोमिटर यात्रा गरेका थिए ।

नगरपालिकामा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख दिलीपकुमार राईले उहाँहरुको पर्यटन प्रवद्र्धनको अभियानप्रति धन्यवाद ज्ञापन गरेका थिए । मोटरसाइकलयात्रीको तर्फबाट नगर प्रमुख राई र उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत मायाको चिनो हस्तान्तरण गरिएको छ ।
उता, ९ नम्वर वडाध्यक्ष भानुभक्त राई सहितको वडा कार्यालयप्रति पनि आभार व्यक्त गर्दै उहाँहरुले मायाको चिनो प्रदान गरेका थिए । यात्रामा नगरपालिका कार्यालय, १, ४ र ९ नम्वर वडा कार्यालय तथा सामुदायिक वनले केही आर्थिक सहयोग पुर्याएको थियो ।

यात्रीमध्येका अधिकारीले अन्यत्रको पर्यटकीय अवस्था नियाल्दा पथरी शनिश्चरे नगर पनि देशमा पर्यटक भित्र्याउने महत्वपूर्ण रमणीयस्थल भएको र यसको व्यवस्थापनमा जोड दिनुपर्ने वताए ।

सम्बन्धित खवर