पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले माघ २५ गते देखि सबै वडामा हात्तिपाइले रोग विरुद्धको औषधि सुवाउने भएको छ ।
नगरपालिकाले नगर स्तरीय योजना तर्जुमा गोष्ठीको आयोजना गर्दै हात्तिपाइले रोग विरुद्धको औषधि सुवाउने कार्यक्रमको जानकारी गराएको हो । गत बर्ष झै यो वर्ष पनि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सफल बनाउन सबैको सहकार्यमा अभियान संचालन गर्ने योजना रहेको नगरप्रमख दिलिपकुमार राईले बताए ।
प्रमुख राईले यो आम औषधि अभियान अन्तर्गत प्रत्येक व्यक्तिले औषधि खाने कार्यक्रमलाई सवै पक्ष मिलेर सफल पार्न आव्हान समेत गरेका थिए । खुवाईने औषधिको अभियानका लागि स्वास्थ्य संस्था, विद्यालय, रेडक्रस, सामाजिक संघसंस्था, पत्रकार सहितसँगको शुक्रबार गोष्ठीमार्फत योजना तर्जुमा समेत गरिएको थियो ।
गोष्ठीमा, नगर क्षेत्रका ५० जना स्वास्थ्यकर्मीका लागि माघ १४ र १५ गते अभिमुखीकरण कार्यक्रम राखिने निर्णय भएको छ । यसका साथै औषधि खुवाउन खटिने नगरका ३० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि अभिमुखीकरण गराइने छ ।
१० वटै वडामा वडाका २० जना सामाजिक अगुवाहरुका लागि १६ देखि २० गतेसम्म अभिमुखीकरण गर्ने, प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गर्ने निर्णय भएको छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने पनि निर्णय गरिएको छ ।
कार्यक्रममा, पथरी नगर अस्पतालका डाक्टर सावन मेहताका साथै नगर स्वास्थ्य संयोजक मुरारी आचार्य र स्वास्थ्यकर्मी जगत मगरले हात्तीपाइले रोग र त्यसको निवारणका सन्दर्भमा जानकारी गराएका थिए । यस अभियानमा अण्डाकोषको हाइड्रोसिल भएकाहरुलाई निःशुल्क शल्यक्रिया समेत गरिने बताएका छन् । नगरमा गत वर्ष ८९ प्रतिशतले औषधि सेवन गरेको र यो वर्ष सवैलाई नै औषधि खुवाउन सफल हुने योजना बनाइएको छ । औषधि खुवाउने जिल्लाको यो ९ औं पटकको अभियान हो ।