राष्ट्रपति रनिङशिल्ड खेलकुदको उपाधि पञ्चायत माविको हातमा

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका अन्तरगत स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा पञ्चायत माविले उपाधि हात पारेको छ । १ नम्वर वडाको पञ्चायत माविको खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगितामा पञ्चायतले ८ स्वर्ण र ८ रजत पदक सहित रनिङशिल्डको उपाधि हात पारेको हो ।

प्रतियोगितामा ९ नम्वर वडाको सिंहवाहिनी माविले ७ स्वर्ण र ३ रजत प्राप्त गरी दोस्रो र ३ नम्वरको जनता माविले ३ स्वर्ण र ७ रजत सहित तेस्रो भएका छन् । सिंहवाहिनीले गत वर्ष उपाधि जितेको थियो । तर ३ हजार मिटरको छात्र दौडको निर्णयका विषयमा केही अस्पष्टता भइ छलफल भएको थियो । छलफलमा सहमति कामय भइसकेर बाहिर आएपछि एक्कासी निर्णय अमान्य भन्दै सिंहवाहिनीले कुनै पनि पुरस्कार ग्रहण नगरेको आयोजकले बताएका छन् ।

पञ्चायतकातर्फबाट ३ हजार मिटर छात्र दौडमा साइन राई, १ सय मिटर छात्र दौडमा राजु श्रेष्ठ, ८ सय मिटर छात्र दौडमा चित्रबहादुर मगर, छात्रा सटपुटमा पायल राईबाट तथा १ सय मिटर छात्र रिले दौड, छात्र भलिबल, छात्र कबड्डी सहितमा स्वर्ण पदक प्राप्त भएको छ ।

सिंहवाहिनीकातर्फबाट ३ हजार मिटर छात्रा दौडमा दिलकुमारी खत्री, छात्रा लङजम्प र १५ सय मिटर छात्रा दौडमा पविना मगर, ८ सय मिटर छात्रा दौडमा देवी पराजुलीबाट तथा ४ सय मिटर छात्र र छात्रा रिले दौड सहितमा स्वर्ण स्थान पाएका थिए ।

माघ २७ देखि सुरु भइ ३ दिनसम्म संचालित प्रतियोगिताको समापनका कार्यक्रमको प्रमुख अतिथि १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देनले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै आगामी वर्षहरुमा अझ व्यवस्थित रुपले प्रतियोगिता सञ्चालन गर्दै जाने शुभकामना व्यक्त गरेका छन् । प्रतियोगिता संचालनमा विशेष सहयोग पुर्याउने विद्यालय तथा शिक्षकहरुलाई प्रसंशापत्र समेत प्रदान गरिएको छ ।

नगरका सामुदायिक तथा संस्थागत गरी १६ विद्यालयको सहभागिता रहेको थियो । स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता पथरीशनिश्चरे नगरपालिकाले दोस्रो पटक संचालन गरेको हो ।

सम्बन्धित खवर