कानेपोखरी । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल १ नम्बर प्रदेश कार्यसमितिले मोरङ उत्तरपूर्वीको तीनवटा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई स्थानीय कानुन तर्जुमा तथा सभा सञ्चालन सम्बन्धी तालिम दिएको छ ।
मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका र कानेपोखरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडाध्यक्ष सहितलाई दुईदिने तालिम दिएको हो । तालिमलाई गाउँपालिका महासंघ केन्द्रिय बरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले सहजिकरण गरेका छन् ।कानेपोखरी गाउँपालिका –६ स्थीत, रमाइलो साकोसको सभाहलमा बुधबार सुरु भएर विहिबार समापन हुने भएको छ ।
तालिममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सम्बन्धी तीनै तहको सरकारको काम, कर्तव्य सम्बन्धी छलफल भएको थियो । गाउँसभा कसरी गर्ने, अधिबेशन कसरी गर्ने, एक अधिवेशनमा कति पटक बैठक बस्ने, सभामा अतिथि कस्लाई बोलाउने, विधेयक सभामा कस्ले पेश गर्ने लगाएतको छलफल गरिएको थियो । विहिबार दोस्रो दिन सभा गर्ने तरिकाको छलफल हुने बताएका छन् ।
तीन गाउँपालिकाको व्यवस्थापन र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल १ नम्बर प्रदेश कार्यसमितिले तालिमको आयोजना गरेको हो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवि प्रसाद आचार्य, उपाध्यक्ष सरला राई, केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्की र उपाध्यक्ष शान्ति कुमारी लिम्बु भूजेल सहभागी थिए ।
त्यसैगरी कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम कार्यक्रममा सहभागी भएका थिए । तीन वटै गाउँपालिकाका वडाध्यक्ष पनि सहभागी थिए ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल १ नम्बर प्रदेश कार्यसमितिको अध्यक्ष ताराबहादुर काफ्ले हुन । कार्यक्रममा कानेपोखरी गाउँपालिका क्षेत्रभित्रको राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिििनधि पनि सहभागीता गराएका थिए ।