चैत्र १०, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सीमा नाकाहरुको आज निरीक्षण गरेका छन् । कोरोना भाइरसका कारण सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले सीमा नाकाहरु बन्द गरेसँगै नाकाहरुको अवस्थाको जानकारी लिन मुख्यमन्त्री राईले सोमबार झापाको काकडभिट्टास्थित नाकाको निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा मुख्यमन्त्री राईले नाकाको सम्पूर्ण जानकारी स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रशासन, प्रहरीबाट लिनु भएको थियो । सीमा नाका बन्दका कारण काकडभिट्टाको पानीट्यांकीमा रोकिएका नेपालीहरुको बारेमा मुख्यमन्त्री राईले जानकारी लिएका थिए । उनिहरुलाई सबै पक्रिया पुर्याएर नेपाल आउन आफूले पहल थालेको सिमामा रोकिएका नेपालीहरुलाई मुख्यमन्त्री राईले जानकारी दिए ।
मुख्यमन्त्री राईले झापाको कलवलगुरीमा निर्माण भएको क्वारेन्टाईनको निरीक्षण समेत गरेका थिए । त्यस्तै उहाँले मेची अस्पतालमा तयार गरिएको आईसोलेसन वार्डको निरीक्षण तथा आवश्यक जानकारी लिएका थिए । निरीक्षणका क्रममा मुख्यमन्त्री राईले प्रदेशवासी जनतालाई संयमता र सजकता अपनाउन आग्रह गरे ।
कोरोना भाइरसको विरुद्ध सबै मिलेर अगाडि बढ्न उनले आग्रह गरेका थिए । निरीक्षणका क्रममा प्रदेश सरकारले मेचीनगर नगरपालिका, कलवलवगुरी क्वारेन्टाईन र मेची अस्पतालमा आवश्यक माक्स र सेनिटाइटर उपलब्ध समेत गराएको छ ।