चैत २२ गते, पथरी । ‘लकडाउन’का कारण अत्यावश्यक खाद्यान्नमा समस्या हुनसक्ने भएपछि नगरका चामल मिलहरुलाई सुरक्षित तबरले सञ्चालन गर्न मोरङको पथरीशनिश्चरे नगरपालिकाले अनुरोध गरेको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा पथरीउद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहितको टोलीले पथरी बजार क्षेत्रमा रहेका चामल मिलहरुको अनुगमन् गर्दै अनुरोध गरेको हो ।
अनुगमन्का क्रममा कोरोना भाइरस सर्नबाट बच्न सुरक्षित हुने तबरले चामल मिल सञ्चालन गरी नगरवासीको अत्यावश्यक खाद्यान्न अभाव हुन नदिन अनुरोध गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । कम्तिमा डेढ मिटरको दुरीमा रहेर, मास्क, ग्लोब र सेनिटराइजको प्रयोग गरी चामल कुटानी र विक्री वितरण गर्न सचेत गराइएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लकडाउनको समयमा दैनिक ज्यालामजदुरी गर्नेहरुका लागि नगरबाट प्रदान गरिने आवश्यक चामल समेत उपलब्ध गराउन मिलहरुमा अनुरोध गरिएको छ । मिल सञ्चालनका लागि नगर तथा प्रहरीले आवश्यक प्रवन्ध मिलाइदिने जानकारी गराइएको छ ।