‘प्रहरीको साथी म’ नगरको विभिन्न वडामा गठन

चैत २४ गते, पथरी । कोरोना संक्रमण रोकथाम गर्ने उदेश्यले प्रहरी विभागको अभियान अन्तरगत इलाका प्रहरी कार्यालय पथरीले नगरको विभिन्न वडामा युवा स्वयंसेवक समिति गठन गरेको छ ।

सुरक्षालाई थप मजबुद बनाउन आइतबार नगरको वडा नम्बर १, ४, ७ ,६र १० मा प्रत्येक वडाका १० जना युवाहरु समेटेर स्वयंसेवक टिम तयार गरेको हो । सो अभियानमा आवद्ध युवाहरुलाई इलाका प्रहरी कार्यालय पथरीले प्रहरीको साथी म लेखिएको टिसर्ट प्रदान गरेको छ । इप्रका पथरीले क्रमश अन्य वडामा पनि अभियान संचालन गर्ने बताएको छ ।

४ नम्बर वडामा स्वयंसेवक टिम चयन कार्यक्रममा बोल्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले वडाका युवा र प्रहरीको साझेदारीमा कोरोना रोकथाममा उच्च सतर्कता अपनाउन सकिने बताए ।

वडा नं. ४ बाट स्वयं सेवक समितिमा युवाहरु राजकुमार विश्वकर्मा, नारायण दाहाल, भरतध्वज खजुम, विरबहादुर कार्की, संदिप महते, रविन मगरलगायत १० जना रहेका छन् ।

यसैगरी आइतबार नै वडा नं. ७ का वडाध्यक्ष कपिलमणि ढकाल र वडा सदस्यहरुको उपस्थितिमा युवाहरु लिला उप्रेती, भविन रिमाल, महेवा कार्की, मनिष धिमाल, पदम सुब्बा, रोशन गुरुङ, छत्र लिम्बू, प्रदिप ठाकुर, सबु दाहाल र तीर्थबहादुर तामाङ रहेको स्वयंसेवक समिति गठन गरिएको छ ।

नेपालमा कोरोनाको संक्रमित संख्या बढिरहेको र स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको क्षेत्रमा देश दोश्रो चरण प्रवेश गरेको जनाइरहदाँ प्रहरीले मात्र कोरोना रोकथाम सम्भव नभएको भन्दै युवाहरुको स्वयं सेवक टिम तयार गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरिले बताए ।

सम्बन्धित खवर