पथरीशनिश्चरे नगरको ४ वटा वडामा राहत वितरण सम्पन्न

चैत २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका ४ वटा वडामा दैनिक ज्यालामजदुरी गर्नेका लागि राहत वितरण गरेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि राहत वितरण गरिएको हो । सोमबार वडा नम्वर २, ३, ४ र ७ मा खाद्यान्न राहत वितरण गरेका थिए ।

स्वास्थ्य सतर्कताका साथ दुरी कायम गरेर सवैलाई साबुनपानीले हात धुन लगाएर सेनिटाइजरको प्रयोग गरी ‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’ राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समिति मार्फत राहत वितरण गरिएको हो ।

वडा नम्वर २ मा ४ सय ३०, ३ मा २ सय २३, ४ मा ३ सय ३६ र ७ मा १ सय ४७ जनालाई राहत वितरण गरिएको समितिले जनाएको छ । २ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा माथिको सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैका लागि प्रति परिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतका रुपमा वितरण भएको थियो ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राई, राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको सहभागीतामा राहत वितरण भएको छ ।

जसमा समन्वय समितिका सदस्य दीपक वस्नेत, राहत व्यवस्थापन तथा वितरण समिति सदस्यहरु २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङका साथै ३ नम्वर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकाल, राजनीतिकर्मी चन्द्रकुमार राई, दुर्गाप्रसाद भट्टराई, वडा सदस्य, वडास्तरीय राहत वितरण समितिका सदस्य, कर्मचारी, समाजसेवी, युवा सहितको सहभागिता रहेको थियो ।

अव, वाँकी रहेका ५, ६, १० र १ नम्बर वडामा राहत वितरण गरिने राहत वितरण तथा व्यवस्थापन समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाए । उनीले विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत प्रदान गरेको नगद तथा खाद्यान्न र नगरको विपद व्यवस्थापन कोष अन्तर्गतबाट एकद्वार प्रणालीमा राहत वितरण गरिएको बताए । हिजो वडा नम्वर ८ र ९ मा वितरण गरिएको थियो ।

सम्बन्धित खवर