चैत २६ गते, पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकाले १० वटै वडामा दैनिक ज्यालामजदुरी गर्ने मजदुर गर्ने ४ हजार ३ सय ४२ जनालाई राहत वितरण सम्पन्न गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि नगरपालिकाले राहत वितरण सम्पन्न गरेको हो ।
बुधबार वडा नम्वर १ मा १ हजार १ सय २८ मजदुरको परिवारलाई राहत वितरण गरिएको छ । स्वास्थ्य सतर्कताका साथ सामाजिक दुरी कायम गरी साबुनपानीले हात धुन लगाइ सेनिटाइजर लगाइदिएर ‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’ राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समिति मार्फत राहत वितरण गरिएको हो ।
यस अघि वडा नम्वर २ मा ४ सय ३०, ३ मा २ सय २३, ४ मा २ सय ९६, ५ मा ५ सय ५९, ६ मा ५ सय ६९, ७ मा १ सय ४७, ८ मा २ सय २२, ९ मा १ सय ८६ र १० मा ५ सय ८२ घर परिवारलाई राहत वितरण गरिएको छ । नगरमा राहत पाउनेको कुल संख्या ४ हजार ३ सय ४२ रहेको राहत व्यवस्थापन तथा वितरण समितिले जनाएको छ ।
२ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा बढी सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैका लागि प्रति परिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतका रुपमा वितरण भएको छ ।
कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राईको संयोजन तथा समिति सदस्य तथा राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा राहत वितरण भएको छ ।
जसमा समन्वय समितिका सदस्य दीपक वस्नेत, राहत व्यवस्थापन तथा वितरण समिति सदस्यहरु २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङका साथै १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन, ३ नम्वर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, ५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमाल, ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकाल, ९ नम्बर वडाध्यक्ष भानुभक्त राई, १० नम्वर वडाध्यक्ष सागर राईको उपस्थीतमा वडामा राहत वितरण गरिएको थियो ।
यसमा समन्वय समिति सदस्य राजनीतिकर्मी चन्द्रकुमार राई र दुर्गाप्रसाद भट्टराईका साथै कार्यपालिका सदस्य, वडा सदस्य, वडास्तरीय राहत वितरण समितिका सदस्य, कर्मचारी, ‘प्रहरीको साथी म’ नामक समिति, समाजसेवी, युवा सहितको सहभागिता रहेको थियो ।
्विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत प्रदान गरेको नगद तथा खाद्यान्न र नगरको विपद व्यवस्थापन कोष अन्तर्गतबाट एकद्वार प्रणालीमा राहत वितरण गरिएको नगर प्रमुख राईले जनाए ।
समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको छ ।