अशोक फुयल, चैत २६ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले पहिलो चरणको राहत वितरण ७ वटै वडामा सम्पन्न गरेर अहिले दोस्रो चरणको राहत वितरणमा लागेको छ ।
बुधबार बसेको कार्यपालिकाको बैठले दैनिक ज्यालादारी गरेर जीविको पार्जन गर्ने मजदुर घरपरिवारलाई राहत वितरण गर्ने निर्णय गरेको हो । दोस्रो चरणमा २४ हजार केजी चामल राहत स्वरुप वितरणको तयारी रहेको गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्लेले बताए ।
त्यसैगरी मुसुरी दाल १२ सय केजी, आयोडिन नुन १२ सय केजी, सूर्यमुखी तेल १२ सय लिटर, चिनी १२ सय केजी र १२ सय पिस साबुन खरिद गरी वितरण गर्न लागिएको अध्यक्ष काफ्लेले बताए ।
गाउँपालिकाले बुधबार नै नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सामाग्री खरिद कम्तीमा १५ दिनसम्म परिवर्तन नहुने गरी सूचना प्रकाशित गरेको छ । प्रकाशित मितिले ७ दिन भित्र कार्यालयमा सम्पर्क हुन आव्हान गरेको छ ।
पहिलो चरणको राहत वितरण कार्यक्रममा धेरै मजदुरको घरपरिवार छुटेको र वडाबाट धेरै नाम आएकोले पहिलो चरणमा वितरण गर्दा राहत नपाउँनेहरुका लागी दोस्रो चरणमा वितरण गर्न लागिएको उपाध्यक्ष राजमती इङ्नामले बताइन ।