बैशाख ४ गते, कानेपोखरी । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई न्यूनीकरण र रोकथामको लागी सरकारले गरेको लकडाउनलाई कानेपोखरी गाउँपालिकाले शुक्रबार देखि प्रभावकारी बनाउने भएको छ ।
विहिबार गाउँकार्यपालिकाको बैठकले ६ वटा बुदाहरुमा छलफल गरी प्रभावकारी बनाउने निर्णय गरेको हो । गाउँपालिकाले आज दिउँसो विज्ञप्ती प्रकाशित गर्दै कानेपोखरी गाउँपालिका वासीहरुमा सुचना गरेको छ ।
गाउँपालिकाले अन्य पालिकाबाट आउने तरकारी, फलफुललाई शुक्रबार देखि लागुहुने गरी रोक लगाउने निर्णय गरेको छ । बाहिरबाट आयतीत तरकारी तथा फलफुलबाट कोरोना भाइरसको जोखिम बढ्ने भएकोले ल्याउने सवारी साधनलाई रोक लगाउने निर्णय गरेको हो ।
त्यसैगरी सामाजिक दुरी कायम गरी औषधि पसल बाहेक खाद्यान्न, मलखाद, मासु बिक्रि पसलहरु दिउँसो १ बजे देखी ४ बजे सम्म खुल्ला गरेको छ । विहान र बेलुका भने पूणरुपले बन्द गरेको छ । यस अघि जुनसुकै समयमा पनि तरकारी, खाद्यान्न, मासु पसल र मलखाद खुल्ने गरेको थियो ।
शुक्रबार विहान देखि मर्निङ वाकमा निस्कने, चिया पसलमा भेला भएर गफ गर्ने, छिमेकी भेला भएर सडकमा वा घरघरमा समूह बनाएर वस्नेलाई पक्राउ गरी कारवाही गर्ने भएको छ ।
आफ्नो घरबाट स्थानीय क्लिनीकमा विरामी लिएर जादाँ दुईजना र औषधि लिनु जादा एकजना मात्र जानुपाईने नियम लागु गरेको विज्ञप्तीमा उल्लेख छ ।
तरकारी लिएर हाट बजार लाग्दै आएको भएता पनि अव हाट बजार बन्द, चोक– चोकमा तकारी बेच्न बन्द गरिएको छ । तरकारी व्यपारीले साइकलबाट घरघरमा लगेर बेच्न पाउने व्यवस्था गरेको छ ।
त्यसैगरी बाटोमा बालबालिका खेल्न पनि बन्द गरिएको छ । गाउँमा विदेश वा जोखिम क्षेत्रबाट नयाँ मानिस तत्काल आएमा गाउँपालिका, जनप्रतिनिधि वा प्रहरीलाई खवर गर्न अुनरोध गरेको छ । लकडाउनलाई प्रभावकारी बनाउन ‘प्रहरीको साथी म’ लाई परिचालन गर्ने र लकडाउन नियम उल्लघंन गरेमा कानुनी कारवाही गर्ने विज्ञप्तीमा उल्लेख छ ।