बैशाख ७, विराटनगर । १ नम्बर प्रदेशमा आइतबारसम्म दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने संख्या समेत थपिएको छ ।
पीसीआर विधिबाट जम्मा ३ सय ८७ जनाको स्वाब परीक्षण गरिएको छ । यसैगरी आरडीटी विधिबाट जम्मा २ हजार २ सय ८१ जनाको नमूना परीक्षण भएको छ ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनहरुमा भने द्रुत विधिबाट परीक्षण गरिरहेको छ ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल ६ सय ७६ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ६ महिला र १७ पुरुषसहित २३ जना बसिरहेका छन् ।
होम क्वारेन्टाइनमा जम्मा ४ हजार २ सय २३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण भएको छ । दुई जना नेपाली र ११ जना भारतीय नागरिकमा कोरोना भएको हो ।