जेठ ५ गते, पथरी । आफ्नो घरबाट हिडेको दुई दिन पछि खोलाको किनारमा भेटिएको एक युवाको उपचारको क्रममा मृत्यु भएको छ ।
कानेपोखरी–७, शान्तिटोलका ३५ बर्षीय कुमार पुरीको उलाबारीको मंगलबारे अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । वडा नं.–४ पिङ्डाँडा स्थित डाँसखोला किनारमा आइतबार विहान अचेत अवस्थामा भेटिएको थियो ।
स्थानीयले उनको मुखबाट फिज आइरहेको र घाममा उत्तानो परेर सुतेको अवस्थामा भेटेका थिए । भेट्ने वितिकै स्थानीयले गाउँपालिका र प्रहरीलाई खबर गरेका थिए । उनको साथमा कोदालो, चप्पल र डोरी पनि रहेको प्रहरी चौकी रमाइलोका असई सुमन श्रेष्ठले बताए ।
गाउँपाकिलाका स्वास्थ टोली र उपाध्यक्ष राजमती इङ्नाम, वडाध्यक्ष धनबहादुर राई घटना स्थलमा तत्काल पुगी पुरीलाई उद्धार गरेर मंगलबारे हस्पिटल पुर्याईएको थियो । परिवारका सदस्यले थाहा पाएपछि आइतबार नै हस्पिटल पुगेका थिए ।
श्रीमती र छोरोसंग बस्दै आएका पुरीको पोष्टमार्टम गरी सोमबार उलाबारीको झारसादी मुलघर लगेर सदगत गरेका थिए । उनि ज्याला मजदुरी गरेर कानेपोखरीमा जिविको पार्जन गर्दै आएका थिए ।