जेठ ६ गते, पथरी । मोरङ जिल्लामा कोरोनाको जोखिम बढेपछि पथरीशनिश्चरे नगर क्षेत्रमा बुधबार देखि सवै पसल वन्द गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले नगरमा पनि कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो ।
बैठकले, विहान ६ देखि विहान १० बजेसम्म सञ्चालनमा आएका खाद्यान्न, सागसब्जी सहितका पसलहरु केही समयका लागि वन्द गर्ने तथा नगरको सिमा क्षेत्रमा प्रहरीमार्फत आवतजावतमा पूर्ण वन्देश लगाउने समेत निर्णय गरेको छ ।
यसका साथै, कोरोना संक्रमित हुनसक्ने आशंकामा रहेका कुनै व्यक्तिलाई क्वारेन्टिनमा पुर्याउनु अघिको तात्कालिन अवस्थामा सुरक्षित स्थलमा राख्ने व्यवस्था समेत मिलाउन नगरले व्यवस्थापन गर्ने निर्णय भएको नगर प्रमुख दिलीपकुमार राईले बताए ।

प्रमुख राईले नगर क्षेत्रमा पनि कोरोनाको जोखिम बढ्दै गएकाले सवै नगरवासीलाई सजक भएर घरभित्रै बस्नका लागि आग्रह समेत गरे ।
बैठकले, नगर र वडाका सम्झौता भएका योजनाहरु लकडाउनले सम्पन्न हुन नसकेकाले त्यस्ता योजनाको काम सम्पन्न गर्ने अवधि असार १५ गतेसम्मलाई तोकेको छ । साथै, नगरको जैविक मल पशुपंक्षीका लागि पोषणयुक्त आहाराको कार्यक्रमलाई वडाहरुमार्फत अघि बढाउने पनि निर्णय गरेको छ ।



