जेठ ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले स्थापना गरेको ‘होल्डिङ एरिया’ मा शुक्रबार भारतबाट घरआएका ४ जनालाई राखिएको छ ।
शुक्रबार पथरी बहुमुखी क्याम्पसमा स्थापना गरिएको ‘होल्डिङ एरिया’ मा भारतबाट आएका नगरवासी चारजनालाई राखिएको नगर प्रमुख दिलीपकुमार राईले बताए ।
विदेशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन नगर कार्यपािलकाको निर्णय अनुरुप नगरपालिकाले ‘होल्डिङ एरिया’ व्यवस्थीत गरेको थियो ।
उपचारका लागि सिलिगुडी स्थित बाघडोग्रा गएका पथरीशनिश्चरे १ का २ जना र रोजगारीका लागि कालेङपोङ गएका २ जना गरी ४ जना पुरुषलाई प्रारम्भिक रुपमा त्यहाँ राखिएको हो ।
भारत लगायतका देशबाट नेपाल फर्किएकाहरुका लागि कोरोना संक्रमणबाट जोगाउने योजनामा खाना र सुरक्षित बसोबासको प्रवन्ध गर्दै हाललाई होल्डि एरियामा १५ वटा बेड राखिएको छ ।
त्यसरी घर आउनेहरुलाई क्वारेन्टाइनमा जानु अघि सुरक्षित रुपमा छुट्टै राख्न सरकारको योजना अनुरुप नगरपालिकाले पनि ‘होल्डिङ एरिया’ खडा गरको हो । ‘होल्डिङ एरिया’ बाट क्वारेन्टाइनमा पठाएर आवश्यक अनुरुपको स्वास्थ्य चेकजाँच गराइन्छ ।