पत्रकार ‘इच्छुक’को स्मृति दिवसमा प्रेस ज्याकेट वितरण

जेठ १४ गते, पथरी । पत्रकार कृष्ण सेन ‘इच्छुक’को १८ औं स्मृति दिवसको अवसरमा प्रेस संगठन मोरङले संगठनमा आवद्ध सदस्यहरुलाई प्रेस उल्लेख भएको ज्याकेट वितरण गरेको छ ।

तत्कालीन माओवादी जनयुद्धको बेला पत्रकारिता तथा साहित्य सिर्जनामा त्रृmयाशील इच्छुक २०५९ जेठ १३ गते राज्य पक्षबाट मारिएका थिए । जनादेश साप्ताहिक र जनदिशा दैनिक पत्रिकाको सम्पादक रहेका उनी जनयुद्धको घोषित सहिद हुन ।

पत्रकारिता र साहित्य सम्बन्धि कलम चलाउने इच्छुकको १८ औं स्मृति दिवसको अवसरमा प्रेस संगठन मोरङले जिल्लामा फिल्डमा गएर रिपोटिङ गर्ने पत्रकारलाई ६० वटा ज्याकेट वितरण गरेको जिल्ला अध्यक्ष सुदिप कोइरालाले बताए । हिजो विराटनगर र आज पूर्बी मोरङको लागि पथरीमा भेटघाटसंगै प्रेस लेखिएको ज्याकेट वितरण गरिएको थियो ।पथरीमा प्रेस संगठनको केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, प्रदेश १ सदस्य मोहन भट्टराई, जिल्ला सदस्य दिनेश सुब्बा, डम्बर सेन्चुरी, एलिना दियाली लगायतको उपस्थिती रहेको थियो ।

कलमको माध्यमबाट राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका इच्छुक तत्कालीन पत्रकार महासंघकोे केन्द्रीय पार्षद र दक्षिण एसियाली पत्रकार संघ र प्रगतिशील लेखक संघको सदस्य थिए ।

बाउ भारतीय सेना भएकोले २०१३ कार्तिक ३ गते भारतको देहरादुनमा जन्मिएका इच्छुक दाङ, काठमाडौं, सिराहा तथा राजविराज गरी नौ वर्षसम्म जेल बसेका थिए ।

प्रेस सेनानी पुरस्कार (२०६५) बाट सम्मानित इच्छुक, साहित्य सन्ध्या पुरस्कार (२०५७), पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९), कृष्णमणि साहित्य पुरस्कार (२०५९) प्राप्त गरेका थिए ।

नेपाली समाज परिवर्तनका लागि कलमको माध्यमबाट बलिदानपूर्ण संघर्षमा लागेर सहिद भएका कृष्ण सेन इच्छुकको पार्टी एकता हुनु पूर्ब प्रेस सेन्टर र एकतापछि प्रेस संगठन नेपालले प्रत्येक जेठ १३ मा स्मृति दिवस मनाउदै आएको छ ।

सम्बन्धित खवर