असार २ गते, उर्लाबारी ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुरुप्रसाद बरालले संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा मंगलबारेलाई शिक्षा र स्वास्थ्यको हब बनाउने अभियानमा अघि बढेको उद्घोष गरेका छन् ।
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका अध्यक्ष समेत रहेका बरालले मंगलबारे अस्पताललाई स्तरोन्नति गरेर निर्माण हुन लागेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर प्रतिष्ठान मातहत नरहने समेत उद्घोष गरे ।
नेकपा उर्लाबारीले आज आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता बरालले मंगलबारेमा हाल घेराबेरा गरिएको प्रतिष्ठानको जग्गामा आगामी आर्थिक वर्षबाट प्रोद्योगिक महाविद्यालय स्थापना हुने बताए । जननेता मदन भण्डारीको कर्मथलोको रुपमा परिचित यस क्षेत्रमा निर्माण हुने देशको दोश्रो ट्रमा सेन्टर गौरवको आयोजना गरेहकाले यसको सफल कार्यान्वयनका लागि पनि मदन भण्डारीको नाम जोडिएको बताए ।
उनले मदन भण्डारीको नाम जोडिदैमा मदन भण्डारी स्मृति प्रतिष्ठानले सो अस्पताल संचालन नगर्ने स्पष्ट पारे । अस्पताल प्रदेश सरकार मातहत रहने बताए । प्रतिष्ठानले प्राविधिक शिक्षाका संरचना र कार्यक्रम सुरवात गरेर मंगलबारेलाई प्रदेश नं. १ मै शिक्षाको नयाँ हब बनाउने योजनाका साथ लागिपरेको बताए ।
यस्तै उनले प्रदेश सरकारले घोषणा गरेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर निर्माण भएपछि मंगलबारे स्वास्थ्य क्षेत्रको पनि हब बन्ने बताए । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले पूर्वी नेपालमा रहेका स्वास्थ्य माफियाहरुको अन्त्यका लागि पनि मंगलबारेमा ट्रमा सेन्टर निर्माणका लागि नेकपा नेतृत्वको प्रदेश सरकार लागिपरेको बताए ।
उनले राँको बालेर, ढुंगामुढा गरेर केही हुँदैन भन्दै मंगलबारेमा जसरी भएपनि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनेरै छाड्ने उद्घोष गरे । ट्रमा सेन्टर निर्माण हुँदा मंगलबारेको पहिचान हराउने भन्दा झनै थपिने उनले उल्लेख गरे ।
फलानो चिन्हमा भोट हाल्दा नि ः शुल्क उपचार गरिदिन्छु भन्ने प्रबृत्तिको अन्त्यका लागि पनि मंगलबारेमा अस्पताल तथा ट्रमा सेन्टर निर्माण भएरै छाड्ने अध्यक्ष पोखरेलले बताए । स्वास्थ्य व्यापारलाई निमिट्यान्न पार्न मंगलबारेमा ट्रमा सेन्टर निर्माण हुन आवश्यक रहेको उनको भनाई थियो ।
नेकपा मोरङका सचिव गणेश उप्रेतीले पूर्वका नीजि अस्पतालको लुट अन्त्यका लागि मंगलबारेमा ट्रमा सेन्टर आवश्यक रहेको बताए । मंगलबारेमा निर्माण हुन लागेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर सरकारी अस्पतालकै रुपमा संचालन हुने बताउँदै उनले प्रतिष्ठानको शाखा नहुने उल्लेख गरे ।
कार्यक्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका डा. प्रमोद बरालले ट्रमा सेन्टरको महत्व र यसको विषयमा प्रकाश पारेका थिए । मंगलबारेमा निर्माण हुने ट्रमा सेन्टर बिर अस्पतालपछि नेपालकै दोश्रो हुने बताए ।
विशेषगरी दुर्घटना र चोटपटकबाट बचाउनका लागि ट्रमा सेन्टर आवश्यक हुने बताउँदै उनले अन्य प्रशुती, बाल, मुटुर, मृगौला, दन्त, आँखा लगायतको रोगका विरामीले पनि सेवा पाउने बताए । कार्यक्रममा डा. मोहन खड्काले पनि ट्रमा सेन्टरको फाईदाका विषयमा प्रष्ट पारेका थिए । पाथीभरा पोष्टबाट