असोज २३ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकामा समुदाय स्तरमा कोरोना भाइरस संक्रमण तिव्ररुपमा फैलिदै गएको छ ।
समुदाय स्तरमै कोरोना संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेकाहरुका पीसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आउने क्रम जारी भएपछि गाउँपालिकाको विपत व्यवस्थापन समितिले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएका स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना गर्न आग्रह गरेका छन् ।
शुक्रबार मात्र कन्ट्रयाक ट्रेसिङमा परेकाहरु मध्ये ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आज बसेको विपत व्यवस्थापन समितिको बैठकले दशै, तिहार जस्ता चाडपर्वहरुमा पूजापाठ बाहेक अन्य गतिविधि गर्न नपाइने निर्णय गरेको छ ।
त्यसैगरी विद्यार्थी सिकाई सहजिकरण विधि माध्यमबाट पठनपाठन अहिले तत्काल गर्न नपाईने भएको छ । विद्यार्थी भर्ना अभियान भने खुल्ला रहने बताईएको छ । यस अघि समितिले विद्यार्थी सिकाई सहजिकरण विधि माध्यमबाट पठनपाठन २४ गते सम्म बन्द गरेको थियो ।
वित्तिय संस्था, बैंक र सहकारी संस्थाहरु स्वास्थ्य मापदण्ड अपनाई सामाजिक दुरी काम गर्दै संचालन गर्न पाउने निर्णय गरेका छन् । त्यसैगरी गाउँपालिका र वडाकार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु बन्द रहने छ ।
समुदाय स्तरमै थप ८ जनामा कोरोना संक्रमण
गत आइतबार समुदायमा ५ जना कोरोना संक्रमण देखिएपछि संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेका ३८ जना मध्ये थप ८ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । एकजना जनप्रतिनिधि र गाउँपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको हो । ३८ जनाको पीसिआर टेष्टको लागि १९ गते सोमबार स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट आज गाउँपालिकाको स्वास्थ्य शाखामा आएको स्वास्थ्य शाखा प्रमुख रोहिन्द्र कुमार राज भण्डारीले बताए ।
थप ६ जनामा कोरोना संक्रमण
त्यस अघि वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीलाई कोरोना संक्रमण देखिएको थियो । वडाध्यक्ष बुढाथोकीको कन्ट्रयाक ट्रेसिङमा परेका र होम आइसोलेसनमा बसेकाहरुको स्वाब संकलन असोज १६ गते गरेको थियो । १८ गते आइतबार आएको टेष्ट रिपोर्टमा समुदाय स्तरमै थप ५ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो ।