जीवनशैली

ऐतिहासिक ‘कमल पोखरी’ मा मोटरबोट सञ्चालन, पर्यटकको आकर्षण बढ्दै

१० कात्र्तिक, पथरी । अब मोटरबोट चढेर रमाइलो गर्न टाढा जानुपर्ने बाध्यता छैन। मोरङको सुनवर्सी नगरपालिका–१, केचना बजारको दक्षिणपट्टि रहेको ऐतिहासिक कमल पोखरीमा मोटरबोट सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीबजारबाट करिब ११ किलोमिटर दक्षिणमा रहेको यस पोखरीमा स्थानीय युवाहरूले एक महिनाअघिदेखि व्यावसायिक रूपमा मोटरबोट सञ्चालनमा ल्याएका हुन् । मोटरबोट सञ्चालनमा आएपछि पोखरीमा घुम्न, फोटो खिच्न र टिकटक बनाउन आउनेहरूको चहलपहल बढेको छ ।

मोटरबोट चढ्न प्रतिव्यक्ति २५० रुपैयाँ शुल्क लाग्छ। उक्त शुल्क तिरेपछि पोखरीमा मोटरबोटमार्फत तीन फन्को घुम्न पाइने व्यवस्था रहेको सञ्चालकहरूले बताएका छन्। एकपटकमा १० जनासम्म सवार गर्न सकिने क्षमताको मोटरबोटले अहिले पर्यटकको मन तानिरहेको छ ।

मोटरबोट सञ्चालन हुनुअघि पनि कमल पोखरीमा फोटो खिच्ने, टिकटक बनाउने तथा साथीभाइसँग भेटघाट र रमाइलो गर्न आउनेहरूको उपस्थिति रहने गरेको थियो। मोटरबोट थपिएसँगै पोखरीको आकर्षण अझ बढेको छ ।

मङ्गलसिंह माध्यमिक विद्यालयको नाममा रहेको करिब नौ बिघा क्षेत्रफलमा फैलिएको कमल पोखरी प्राकृतिक सौन्दर्यका दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ । वर्षभरि पानी रहने यस पोखरीमा विभिन्न प्रजातिका कमलका फूल फुल्ने गरेका छन् । रातो, नीलो र सेतो कमलका फूलले पोखरीको सुन्दरता थप आकर्षक बनाउने गरेका छन् ।

स्थानीयका अनुसार पोखरीमा माछा, कछुवा, जलकुखुरा, हाँसलगायतका जलचर तथा विभिन्न प्रजातिका चराचुरुङ्गीसमेत देख्न सकिन्छ । प्राकृतिक सौन्दर्य, जलचर र कमलका फूलका कारण यो क्षेत्र घुमफिर गर्न रुचाउनेहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।धार्मिक तथा सांस्कृतिक महत्वसमेत
कमल पोखरी प्राकृतिक सौन्दर्यका लागि मात्र नभई धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । पोखरीको बीचमा जलेश्वर महादेवको मन्दिर रहेको छ । स्थानीयका अनुसार उक्त मन्दिरमा भारतको पवित्र नर्मदा नदीबाट ल्याइएको शिवलिङ्ग स्थापना गरिएको हो ।

पोखरीको प्रवेशद्वारमा किरात समुदायको साकेला थान तथा किरातेश्वर मन्दिर रहेका छन् । त्यस्तै, हिन्दू धर्मावलम्बीका हनुमान र राम मन्दिरसमेत रहेकाले यस क्षेत्रले विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थालाई समेटेको छ ।

मोटरबोटसँगै स्थानीय व्यवसायमा पनि चहलपहल
कमल पोखरीमा मोटरबोट सञ्चालनमा आएसँगै आसपासका व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव परेको मोटरबोट सञ्चालक मनिष राईले बताए । पोखरीनजिकै रहेका दुईवटा होटल तथा आसपासका अन्य व्यवसायमा ग्राहकको चहलपहल बढेको उनको भनाइ छ ।

मोटरबोटसँगै पोखरीमा खुट्टाले चलाउने दुईवटा पेडलबोटसमेत सञ्चालनमा छन् । पोखरी घुम्न आउने पर्यटकको सुरक्षाका लागि नजिकै प्रहरी बिटसमेत रहेको छ ।
स्थानीयस्तरमै रहेको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके यस क्षेत्रले स्थानीय रोजगारी तथा आर्थिक गतिविधिमा थप योगदान पु¥याउन सक्ने सम्भावना देखिएको छ ।

यद्यपि, कमल पोखरीको दीर्घकालीन संरक्षण र पर्यटन प्रवद्र्धनका लागि पानीको वैकल्पिक स्रोतको व्यवस्थापन, पोखरीको अतिक्रमण नियन्त्रण तथा व्यवस्थित संरक्षण योजना आवश्यक देखिन्छ । सम्बन्धित निकाय र स्थानीय समुदायबीच सहकार्य गरेर पोखरीको प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्व जोगाउन सके कमल पोखरी पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित हुन सक्छ ।

प्रतिक्रिया