मुख्य खबर

केरौन सबस्टेशनबाट कात्तिक १५ देखि विद्युत् आपूर्ति सुरु हुने

९० करोड लागतको सबस्टेशन सञ्चालनमा आएपछि पूर्वी मोरङमा कम भोल्टेजको समस्या घट्ने अपेक्षा

९० करोड लागतको सबस्टेशन सञ्चालनमा आएपछि पूर्वी मोरङमा कम भोल्टेजको समस्या घट्ने अपेक्षा

८ कात्तिक, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौन चोकको पश्चिमतर्फ निर्माण गरिएको १३२÷३३ केभी क्षमताको केरौन सबस्टेशनबाट आगामी कात्तिक १५ गतेदेखि विद्युत् आपूर्ति सुरु हुने भएको छ। सबस्टेशन सञ्चालनमा आएपछि पूर्वी मोरङका विभिन्न क्षेत्रमा देखिँदै आएको कम भोल्टेजको समस्या न्यूनीकरण हुनुका साथै विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

करिब ९० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको सबस्टेशनको अधिकांश संरचनागत तथा प्राविधिक काम सम्पन्न भइसकेको आयोजनाका इन्जिनियर राजेश साहले जानकारी दिए। उनका अनुसार हाल ट्रान्सफर्मर चार्जिङको काम भइरहेको छ। कात्तिक १४ र १५ गते हाईटेन्सन लाइनमा सटडाउन लिएर आवश्यक परीक्षण तथा चार्जिङको काम सम्पन्न गरी विद्युत् आपूर्ति सुरु गर्ने तयारी गरिएको छ।

नेपाल सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त आयोजना विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, स्थिर र गुणस्तरीय बनाउने उद्देश्यले अघि बढाइएको हो। सबस्टेशन निर्माणका लागि नेपाल सरकारले करिब पाँच बिघा जग्गा खरिद गरी उपलब्ध गराएको थियो।

आयोजनाको निर्माण कार्य २०७८ साउन २७ गतेदेखि सुरु भएको थियो। प्रारम्भिक सम्झौताअनुसार २०८० कात्तिक २५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयमा काम पूरा हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले निर्माण अवधि थप गरी २०८१ कात्तिक २५ गतेसम्म पु¥याएको थियो।

सबस्टेशनमा ट्रान्सफर्मर जडान, वायरिङ तथा पोल विस्तारलगायतका अधिकांश काम सम्पन्न भइसकेका छन्। बाँकी प्राविधिक परीक्षण र चार्जिङको प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको आयोजनाले जनाएको छ।

केरौन सबस्टेशनका आयोजना प्रमुख दर्शन यादवका अनुसार सबस्टेशन सञ्चालनमा आएपछि विराटनगरतर्फबाट पूर्वी क्षेत्रमा आपूर्ति हुँदै आएको विद्युत् लाइनमा देखिँदै आएको कम भोल्टेजको समस्या न्यूनीकरण गर्न सहयोग पुग्नेछ। यसले विद्युत् आपूर्तिलाई थप स्थिर र भरपर्दो बनाउनुका साथै उपभोक्ताले भोग्दै आएका समस्यासमेत कम गर्ने अपेक्षा गरिएको छ।

सबस्टेशन सञ्चालनमा आएपछि कानेपोखरी, उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी, सुन्दरहरैँचा, लेटाङ, रङ्गेली, सुनवर्षी, धनपालथान, रतुवामाई र जहदालगायत मोरङका विभिन्न क्षेत्रका विद्युत् उपभोक्ता लाभान्वित हुने जनाइएको छ।

नयाँ सबस्टेशन सञ्चालनमा आएसँगै पूर्वी मोरङको विद्युत् वितरण प्रणालीमा सुधार आउने, कम भोल्टेजको समस्या घट्ने र घरायसी उपभोक्तादेखि उद्योग तथा व्यवसायसम्मलाई थप गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया