कानेपोखरीमा अक्सिजन सहितको ३८ वेडको आइसोलेसन सेन्टर तयार

तस्विरहरु : विजय माझी

जेठ ३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले अक्सिजन सहितको ३८ वेडको आइसोलेसन सेन्टर तयार पारेको छ ।

उपाध्यक्ष तथा अनुगमन् समिति संयोजक राजमती इङ्नामले आइतबार जनसेवा माविको हलमा रहेको आइसोलेसन स्थलको निरीक्षण तथा अनुगमन गरेका छन् । अनुगमन्मा वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारी र स्वस्थ्यकर्मीहरु पनि सहभागी रहेका थिए । गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण दिनै बढिरहेकाले संक्रमित मध्ये कठिन हुनेको लागि आइसोलेसन तयार गरिएको उपाध्यक्ष इङ्नामले बताए ।

उपाध्यक्ष तथा अनुगमन् समिति संयोजक इङ्नाम र स्वास्थ्यकर्मीको टोली अहिले दैनिक कोरोना भाइरसको लक्षण देखिएको व्यक्तिहरुको घरघरमा गएर कसैलाई एन्टीजोन र केहीलाई पिसिआर परीक्षण गरिरहेका छ । गाउँपालिकामा अहिले २५ जना कोरोना संक्रमित व्यक्तिहरु रहेको र अरु रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए ।

गाउँपालिकाले आइतबार ५ थान अक्सिजन सहितको सिलिण्डर खरिद गरेर ल्याएको छ । आवश्यकता अनुसार खरिद गरिने गाउँपालिकाले जनाएको छ । जनसेवा माविको हलमा रहेको आइसोलेसन सेन्टरमा गत बर्ष २ सय वेडको क्वारेन्टाइन राखिएको थियो ।

 

 

सम्बन्धित खवर