माघ १२ गते, पथरी । मोरङको पथरीशनिश्चरे – ४ ले सामुदायिक विद्यालयका सहयोगी कार्यकर्ता (सका) लाई कम्प्युटर सञ्चालन सम्बन्धी तालिम सुरु गरेको छ ।
क्षमता अभिवृद्धिका लागि वडा भरीका ९ जनालाई ४० दिने आधारभूत कम्प्युटर तालिम मंगलबार देखी सुरु गरेको हो । तालिमको वडाध्यक्ष गोविन्द बहादुर भण्डारीले उद्घाटन गरेका थिए । अल ईन वान युनिभर्सल इन्स्टिच्युटको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा उनीहरुले कम्प्युटर अन गर्नेदेखि फोल्डर बनाएर नेपाली र अङ्ग्रेजी भाषामा टाइप गर्न सक्ने दक्षता बनाउने लक्ष्य रहेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा वडाध्यक्ष भण्डारीले कम्युटर सम्बन्धि सामुदायिक विद्यालयका सकाको क्षमता र दक्षता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताए । वडाध्यक्ष भण्डारीले भने ‘सिपले नै मानिसलाई आत्मनिर्भर बनाउंछ, सिप सिकेर आत्मनिर्भर बन्न तालिम उपयोगी हुने छ ।’
कार्यक्रमा नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईले तालिममा सहभागीहरुलाई ध्यान दिएर सिक्न आग्रह गरेका छन् । उनले सिकेका कुराहरुलाई व्यवहारिक जीवनमा उतार्नुपर्नेमा समेत सहभागीहरुलाई अनुरोध गरेका छन् ।
हाल सबैका लागि अनिवार्य बनिसकेको कम्युटर तालिममा सहभागी हुन पाउँदा सहयोगी कार्यकर्ताहरु उत्साहित बनेका छन् । इन्स्टिच्युटका सञ्चालक पिताम्बर घिमिरेले तालिम सञ्चालन गर्न सहयोग गर्ने वडा नं. ४ लाई विशेष धन्यवाद दिदै तालिममा सहभागीलाई उपलब्धी मूलक सीप विकासका लागि दत्तचित्त भएर तालिम लिन आग्रह गरे ।