जेठ १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको कार्यपालिका सदस्यमा महिला, दलित वा अल्पसंख्यकका तर्फबाट निर्वाचित ८ जनालाई मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयको आयोजना गरेको कार्यक्रममा, नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उपप्रमुख देवीमाया काफ्लेको उपस्थितीमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा निर्वाचन अधिकृत खगेन्द्र सुवेदी र सहायक अधिकृत पूण्यप्रसाद पौडेलले नगर प्रमुख तुम्वापोको नेतृत्वमा प्रमाणपत्र वितरण गरेको हो ।
१० वडा रहेको नगरमा नेकपा एमालेको बहुमत सदस्य निर्वाचित रहेपछि कार्यपालिकाको महिला, दलित वा अल्पसंख्यकका रुपमा एमालेबाटै ८ जना निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यमा, नेपाली कांग्रेसबाट महिला, दलित र अल्पसंख्यक गरी ३ जनाको उम्मेदवारी दर्ता गराएपनि उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध रुपमा एमाले प्यानलका सदस्य निर्वाचित भएका हुन् ।
यस अघि वडा सदस्यमा निर्वाचित कल्पना श्रेष्ठ, तुलसा कार्की (मुना), मिनाकुमारी तामाङ, शान्ता योङहाङ र सीता दर्जी महिला सदस्यका रुपमा कार्यपालिकामा निर्विरोध निर्वाचित वन्नु भएको छ । त्यस्तै, अञ्जना दर्जी, पदमबहादुर धिमाल र वीरध्वज नेपाली शिवा दलित वा अल्पसंख्यकतर्फबाट कार्यपालिका सदस्यमा मनोनित भई निर्वाचित हुनु भएको छ । वडाध्यक्षहरुको समेत उपस्थितीमा कार्यक्रम सम्पन्न भयो । निर्वाचन अधिकृत सुवेदी र सहायक अधिकृत पौडेललाई नगरपालिकाले धन्यवाद समेत ज्ञापन गरेको छ ।
नगरमा एमालेबाट नगर प्रमुख, उपप्रमुख सहित ३४ जना र नेपाली कांग्रेसबाट १८ जना निर्वाचित भएका छन् ।