फोनिज मोरङले तीन जना पूर्वअध्यक्षलाई सम्मान गर्ने

मंसिर २५ गते, पथरी, मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले तीन जना पूर्व अध्यक्षलाई सम्मान गर्ने भएको छ ।
सोमबार हुन लागेको फोनिज मोरङको पाँचौ जिल्ला अधिवेशनमा फोनिजको तीन जना पूर्व अध्यक्षहरुलाई सम्मान गरिने भएको हो । मोरङ फोनिजको प्रथम अध्यक्ष अर्जुन जम्नेली राई, दोस्रो अध्यक्ष भक्तशेर लिम्बु र तेस्रो अध्यक्ष उत्तम बान्तवा राईलाई सम्मान गरिने भएको छ । उनिहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिने भएको छ ।
फोनिजमा अहिले सम्म गरेको योगदानको उच्च मुल्याङ्न गर्दै पूर्व अध्यक्षहरुलाई सम्मान गर्न लागेको जिल्ला अध्यक्ष दिनेश सुब्बा लिम्बुले बताए । पथरीशनिश्चरे–१ मा बसोबास गर्दै आएका अर्जुन जम्नेली राई मोफसल साप्ताहिक, गोरखापत्र दैनिक, औजार दैनिक, रेडियो लगाएत एक दर्जन सञ्चारमाध्यममा काम गरिसकेको र अहिले रातोकलम डटकममा आवद्ध रहेका छन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको वर्तमान अध्यक्ष हुन ।
त्यसैगरी बेलबारीलाई कार्यक्षेत्र बनाएर दुई दशक अघि देखी पत्रकारीता गर्दै आएका भक्तशेर लिम्बु ब्लाष्ट राष्ट्रिय दैनिक र उज्यालो प्रदेशमा कलम चलाउँदै आएका छन् । त्यसैगरी पथरीशनिश्चरे–६ घर भएका उत्तम बान्तावा राई मोफसल साप्ताहिक, पिपुल्स टाइम्स, प्रतिदिन दैनिक, रेडियो लगाएतमा आवद्ध भई अहिले निगरानी टाइम्स अनलाइनमा रहेका काम गरिरहेका छन् ।
जिल्ला अधिवेशन कानेपोखरी गाउँपालिका ७ नम्बर वडा स्थित कानेपोखरी चोकको नलिन होटलमा सम्पन्न हुने भएको छ । फोनिज मोरङको पाँचौ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुने सचिव अनिल श्रेष्ठले बताए ।

सम्बन्धित खवर