खेलकुद

सि.एच.आईटिएफ तेक्वान्दो संघद्वारा खेलाडी र प्रशिक्षकसंग शुभकामना आदानप्रदान

१ कात्तिक, कानेपोखरी । कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघ र मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघले बडादशैं, तिहार तथा छठ पर्वको अवसरमा खेलाडी र प्रशिक्षकलाई टीका, दक्षिणा र आशीर्वादसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

संघले कानेपोखरी गाउँपालिका तथा आसपासका विभिन्न डोजाङमा आबद्ध खेलाडी र प्रशिक्षकलाई पर्वको शुभकामना दिँदै दशैं बिदा दिएको हो ।

शनिबार बिहान कानेपोखरी–६, रमाइलोस्थित संघको कार्यालयमा कार्यक्रम आयोजना गरी रमाइलो डोजाङ र देलेली डोजाङका प्रशिक्षक तथा खेलाडीबीच शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेल, कोशी प्रदेश उपाध्यक्ष अशोक फुयल, मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघकी सचिव पूर्णिमा अधिकारी, कोषाध्यक्ष आशिष भुजेललगायत संघका पदाधिकारी, सदस्यहरु, खेलप्रेमी तथा अभिभावक कमल धिमाल लगाएत अभिभावकहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी, शनिबार अपराह्न ४ बजे उर्लाबारी नगरपालिका–२, सिरुझारमा सुन्झोडा डोजाङ, मंगलबारे डोजाङ र सिरुझार डोजाङका प्रशिक्षक तथा खेलाडीलाई सहभागी गराएर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेल, कोशी प्रदेश सदस्य मनु लिम्बु, मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघका कोषाध्यक्ष आशिष भुजेल, सदस्य सजना श्रेष्ठ, पुजन दंगाललगायत पदाधिकारी, सदस्य तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

संघले खेलाडी तथा प्रशिक्षकसँग आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्दै नेपालीका प्रमुख चाडपर्वको सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।

यसैगरी, इलाम र तेह्रथुम जिल्लामा पनि सि.एच.आईटिएफ तेक्वान्दो संघअन्तर्गत यस्तै प्रकृतिका शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

प्रतिक्रिया