मुख्य खबर

ईरान राईको ‘जिउँदा सपनाहरू’ सार्वजनिक

२० असोज, बेलबारी । बेलबारीलाई मुकाम बनाएर साहित्यको सिर्जना र प्रकाशन गर्दै आउनुभएका स्रष्टा ईरानराईको संयुक्तसहित १५औँ तथा एकल ११औँ कृतिका रूपमा प्रकाशित बालएकाङ्कीसङ्ग्रह ‘जिउँदा सपनाहरू’ शनिबार सार्वजनिक गरियो ।

‘जिउँदा सपनाहरू’लाई प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङ, एकाङ्कीकार ईरानराई, नाटक विधामै विद्यावारिधि डा. गोपीकृष्ण खतिवडा, शिल्पी थिएटर काठमाडौँका निर्देशक घिमिरे युवराज, पथरी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख चेतनाथ पौडेल, प्याब्सन मोरङका अध्यक्ष जगत् बस्नेत, नाट्यकर्मी प्रयाग न्यौपाने, वडाध्यक्ष कृष्णबहादुर गुरुङ र आयोजक अध्यक्ष रमेश निरौलालगायतले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।

प्रमुख अतिथि नगरप्रमुख राईले नाटकले विद्यार्थीहरूलाई सिर्जनशील बनाउने भएको र ईरानराईको यो ‘जिउँदा सपनाहरू’ कृति समाज र शिक्षाका लागि उपयोगी रहेको बताउनुभयो ।

विशिष्ट अतिथि वरिष्ठ साहित्यकार तामाङले मानिसहरूलाई सही मार्गमा डो¥याउन नाटकले प्रेरित गर्ने र ‘जिउँदा सपनाहरू’ कृति सो कार्यका लागि एउटा उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कृतिकार ईरानराईले आफूले २०४२÷४३ देखि नै नाटक लेखन, निर्देशन र मञ्चन गर्दै आएको स्मरण गर्दै विशेष गरेर अहिलेका बालबालिकाहरूलाई स्क्रिनको कुलतबाट हटाएर सदुपयोगतिर लगाउने प्रयासस्परूप बालएकाङ्कीहरू लेखेको बताउनुभयो ।

समीक्षक डा. गोपीकृष्ण खतिवडाले नाटकमा केही संशोधन गर्नुपर्नेदेखिबाहेक सबै एकाङ्कीहरू उत्कृष्ट र मञ्चनयोग्य रहेको तथा बालबालिकाहरूसँगै शिक्षक, अभिभावक र नीतिनिर्माताहरूले पनि यो ‘जिउँदा सपनाहरू’ पढ्नुपर्ने स्तरको कृति रहेको बताउनुभयो ।

समीक्षक नाट्यकर्मी युवराजले नाटकहरू उत्कृष्ट रहेका तथा मञ्चनलाई ध्यान दिनुपर्दा अलिक बढी क्रियाकलापहरू समेटिनुपर्ने सुझाव दिँदै पात्रहरूको नाम मौलिक रहेको बताउनुभयो ।

बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, पथरी बहुमुखी क्याम्पस पथरीका निवर्तमान क्याम्पस प्रमुख चेतनाथ पौडेल र नाट्यकर्मी साहित्यकार प्रयाग न्यौपानेले कृतिको प्रशंसा गर्नुभएको थियो ।

डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष विनोद विवश घिमिरे, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याखा, कोसी कला साहित्य परिषद्का अध्यक्ष केशु विरही, आङलाबुङ साहित्य कला परिषदका अध्यक्ष धनजित पराजुली, शब्द थिएटर पथरीका निर्देशक जीवन बराल, कवि बादल चाम्लिङ, तिला लेकाली, हिरा खड्का अधिकारी, प्रलेस सुनसरीकी अध्यक्ष विमला पोखरल र प्रलेस मोरङका अध्यक्ष यज्ञराज सुसेली, राजनीतिकर्मी शङ्कर गुरुङ, गायक सञ्जीव धिमाल, नाट्यकर्मी टीकालाल धिमाल, मञ्जिल अधिकारी, भक्तशेर लिम्बूलगायतको आतिथ्य थियो ।

‘जिउँदा सपनाहरू’ बालएकाङ्कीसङ्ग्रहमा क्रमशः कुसुनी, कपाल र नङपालिस, तामा र टुसा, सुध्रिने बाचा, जिउँदा सपनाहरू, भूमिका, ट्युसन, आजको खाना, म्याग्मादेखि लाभासम्म र डर गरी १० ओटा एकाङ्कीहरू सङ्गृहीत छन् । यस पुस्तकलाई पीडीएफमा पढ्न र अनलाइन भुक्तानीका लागि बेग्लाबेग्लै क्यू.आर. कोड पनि पुस्तकमै समेटिएका छन् ।

बेलबारी साहित्य विकास समितिको आयोजनामा समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको स्वागत मन्तव्य र साहित्यकार जेबी थुलुङको सञ्चालनमा सगरमाथा इङ्ग्लिस स्कुल, बेलबारी नपा–०१ मोरङमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया