
२० असोज, पथरी । पथरी शनिश्चरे नगरमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपको सोमबार भएको खेलमा झापा–११ ले थ्री स्टार क्लब ललितपुरलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो । टाइब्रेकरमा झापा–११ ले ४–३ गोल अन्तरले थ्री स्टार ललिपुरलाई परिजित गरेको थियो ।
खेलको ३२ औँ मिनेटमा प्रताप चाम्लिङ राईले गोल गर्दै झापा–११ लाई सुरुआती अग्रता दिलाए । ५७ औँ मिनेटमा मिलन चाम्लिङ राईले थ्री स्टारका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । खेलको ६३ औँ मिनेटमा क्रिसल थापाले गोल गरेपछि थ्री स्टारले २–१ को अग्रता बनायो ।
त्यस्तै ७६औँ मिनेटमा झापा ११ का रोमन भुजेल गर्दै खेललाई २–२ को बराबरीमा ल्यायो । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा झापा–११ का रोमन भुजेल, प्रशान्त लक्सम, प्रदीप बुढाथोकी र निखिल तामाङले गोल गरे । थ्री स्टारका सागर तिवारी, दोर्जे तामाङ र दिवस उराउले गोल गरे । थ्री स्टारका सुजन चौधरी र लेकन राईको प्रहार झापा–११ का गोलकिपर योगेश धिमालले रोके ।
झापा–११ का गोलकिपर योगेश धिमाल खेलको म्यान अफ द म्याच घोषित भए ।
झापा–११ ले फाइनल प्रवेशका लागि बुधबार भारतको युकेएफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
गोल्डकपअन्तर्गत मंगलबार(आज) नेपाल पुलिस क्लब र रेडहर्स इलामबीच प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया