संविधान दिवसको अवसरमा कानेपोखरी गाउँपालिकाद्धारा ७ घरपरिवारलाई आवास उपहार

असोज ३, कानेपोखरी । संविधान दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपालिकाले ७ घरपरिवारलाई आवास(घर) हस्तान्तरण गरेको छ ।

वडा नं. २ स्थित प्रधान टोलमा गाउँपालिकाले बुधबार साँझ नेपालको नक्शा बनाई दीप प्रज्वलन गर्दै आवास हस्तान्तरण गरेको हो । दीप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि पूर्व उपसभामुख डा. शिवमाया तुम्बाम्फे र गाउँपालिका अध्यक्ष राजमती इङ्नामले घरको चावी हस्तान्तरण गरेका थिए ।

वडा नं. २ का संगिता उराउ र रेखा मल्लीक, वडा नं. ३ का भखती राजवंशी, कमली चौधरी र फागुलाल उराउ, वडा नं. ५ बाट विश्वेश्वर प्रसाद चौधरी र उत्तम विश्वकर्मालाई आवास हस्तान्तरण गरेका हुन । गाउँपालिकाले यस बर्ष ८ घर परिवारको लागि घर निर्माण गरेता पनि १ घरमा बस्ने निश्चित नभएकोले केही दिनमा निर्णय गरेर राखिने वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीले बताए ।

सोही कार्यक्रममा संविधान दिवस मनाउँदै गाउँपालिकाले सोही स्थानमा नेपालको नक्शा अंकित दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलनमा पूर्व उपसभामुख डा. शिवमाया तुम्माहाम्फे, गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरु, विभिन्न राजनितीक दलका प्रतिनिधि र कर्मचारीहरुले दीप प्रज्वलन गरेका थिए । कार्यक्रम गाउँपालिका प्रवक्ता सुशिल बुढाथोकीको संचालन रहेको थियो भने गाउँपालिका अध्यक्ष राजमती इङ्नामको सभापतित्व रहेको थियो ।

गत बर्ष पनि संविधान दिवसको अवसर पारेर ६ वटा आवास निर्माण गरी आवास विहिन नागरिकलाई हस्तान्तरण गरेका थिए । यस बर्ष आवास विहिन नागरिकको लागि महाशिवरात्रीको अवसर पारेर पालिकाले ८ वटा आवास निर्माणको लागि गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले शिलान्यास गरेका थिए । ८वटा घर निर्माणका लागि ५१ लाख ६५ हजारको लागतमा निर्माण सम्पन्न भएको थियो । आवासलाई बेलबारीको पिपुल कन्ट्रक्सनका संचालक धिरजकुमार चौधरीले २०७९ माघ २९ गते आवस निर्माण गर्न सम्झौता पाए पनि तोकीएको समयमै निमार्ण सम्पन्न गरेको थियो ।

यस बर्ष हस्तान्तरण गरिएको घर एउटा व्लकमा दुई वटा घर एटेज गरेर ४ वटा ब्लक बन्ने ठेकेदार चौधरीले बताउँछ । त्यहाँ एक परिवारलाई १०–१२ को दुई वटा कोठा, ४–६ को एउटा किचन र ४–६ को शौचालय र वाथरुम बनेको छ ।

अघिल्लो बर्ष गाउँपालिकाले संविधान दिवसको अवसरमा वडा नं. २ का बखारु राजवंशी, चेतबहादुर विष्ट, पलान ऋषिदेव र पाण्डु ऋषिदेव, वडा नं. ५ का कोपिला सार्की र डम्बर बहादुर माझीलाई आवास(घर) हस्तान्तरण गरेको थियो ।

एउटा ठुलो कोठा र अर्को सानो कोठा एक तले अर्ध पक्की घर निर्माण गरिएको थियो । घरमा एउटा खानेपानी ट्यवेल, शौचालय र विजुली बत्तीको समेत जडान गरिएको घर घरविहिनलाई प्रदान गरिएको थियो ।

गाउँपालिकाले वडा नं. २ को प्रधान टोलमा गाउँपालिकाले ‘जनता आवास कार्यक्रम’ अन्तरगत रुद्रबहादुर बस्नेतको १ विगाह ३ कट्ठा जग्गा ५४ लाखमा खरिद गरेको थियो । गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा जनता आवास कार्यक्रम अन्तरगतको रकमले जग्गा खरिद गरेको थियो ।

यति मात्र होइन गाउँपालिकाले यो सँगै साहारा नेपालको सहकार्यमा गाउँपालिकाले यस बर्ष वडा नंं. ३ मा ३० वटा घर निर्माण गरी हस्तान्तरण गरिने भएको छ । फुस्को छाना भएको विपन्न परिवारको जुन ३० वटा घर उनिहरुको आफ्नै जग्गामा निर्माण गर्न लागिको हो । यस प्रकारको घर गाउँपालिकाले गएको बर्षमा वडा नं. २ को थानटोलीमा २५ वटा घर निर्माण गरी हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खवर