भदौ ७ गते, मोरङ । सव डिभिजन वन कार्यालय पथरी मोरङले आफ्नो क्षेत्रमा रहेको अबैध काष्ठजन्य उद्योगहरुको अनुसन्धान गर्ने भएका छन् ।
आफ्नो क्षेत्रमा पर्ने काष्ठजन्य उद्योग, समिल र फर्निचर (काठ सम्बन्धी काम गर्ने) उद्योगहरुको बैध, अबैध जानकारी लिन अनुसन्धान सुरु गर्ने भएको हो । वन कार्यालय पथरीले साउन ४ गते पथरीशनिश्चरेको १०, सुनबर्षीको १ र २ नम्बर वडा कार्यालयलाई पत्र लेखेर काठ सम्बन्धी कामगर्ने उद्योगहरु दर्ता भए सो सम्बन्धी प्रमाणपत्र लगायतको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
वडा कार्यालयको विवरण आएपछि अबैध रुपमा दर्ता नगरी सञ्चालनमा रहेको उद्योगहरुलाई कानून बमोजिम कारबाही चलाउने सब डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्र कार्कीले बताए । काठ सम्बन्धि काम गर्ने उद्योग तथा फर्निचर उद्योग खोल्न वन क्षेत्रदेखि कम्तिमा ५ किलोमिटर टाढा हुनु पर्ने ऐनमा उल्लेख छ ।
यस क्षेत्रमा कानून विपरित उद्योगहरु सञ्चालना रहेको गुनासो आइरहेको भन्दै सब डिभिजन वन कार्यालय पथरीले सो अनुसन्धान पछि दर्ता नगरी, वन ऐन विपरित रहेको उद्योगहरुलाई कारबाही चलाइने प्रमुख कार्कीले जनाएको छ । अबैध उद्योगहरुको कारण पनि यस क्षेत्रमा अबैध काठ खरिद, बिक्री हुने गरेको वन कार्यालयको ठहर रहेको छ ।