फागुन १२ गते, पथरी । मोरङको पथरीशनिश्चरेको हिउँदे अधिवेशनका रुपमा १० गते सम्पन्न १० औं नगरसभाले १ करोड ३९ लाखको नयाँ योजना पारित गरेको छ । जस्मा १६ वटा योजनाको निरन्तरतामा जोड दिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षताको पत्रकार सम्मेलनमा प्रवक्ता यामप्रसाद गुरागाईंले विज्ञप्ति वाचन गर्दै विभिन्न योजना तथा कार्यक्रमबाट बचेको १ करोड ३९ लाख रुपैयाँबाट नयाँ योजनाहरु पारित गरेको जानकारी गराएको हो । उनले नगरले प्राथमिकता दिएर निरन्तर सञ्चालनका अघि सारेका मुख्य १६ वटा कार्यक्रम÷ योजनाहरुका बारेमा उल्लेख गरेका थिए । आउने नयाँ नगर समितिले ती योजनालाई निरन्तर सञ्चालन गर्न अनुरोध समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा, नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले १० औं नगरसभाले केहि बचेको रकमबाट थप योजनाहरु निर्माण गरेको जनाउँदै बजेट अधिवेशनका रुपमा रहेको नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा हाल रफ्तारले काम भइरहेको वताइन् । वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको समेत उपस्थिती रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले पनि पत्रकारहरुको जिज्ञासा उपर प्रष्ट पारेका थिए ।
नगरले सपिङ कम्प्लेक्स भवन, नगर अस्पताल, विद्यालयका करार बाल सहयोगी कार्यकर्तालाई राहत, श्रमिक कल्याण कोष, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक, शैक्षिक ऋण, पर्यटन प्रवद्र्धनसँग जोडेर सामुदायिक वनहरुसँग साझेदारी कार्यक्रम, क्यान्सर, मृगौला सहितका ८ प्रकारका दीर्घरोगीलाई १५ हजार राहत सहयोग सहितका योजना तथा कार्यक्रमहरु नगरले प्राथमिकता दिएर निरन्तर सञ्चालनका अघि सारेको छ ।
अन्य निरन्तर सञ्चालनमा अघि सारेका योजनाहरुमा, ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि १ नम्बर प्रदेशमा उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा, ८० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घर घरमा स्वास्थ्य परीक्षण सेवा, कृषि र पशु सम्बन्धीका पकेट र ब्लक कार्यक्रम, अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण सहितका अपाङ्गता पूनस्र्थापना कार्यक्रम रहेको छ । निरन्तर सञ्चालन अन्तर्गत, कोशेली घर निर्माण, मानव सेवामा आश्रम, महिला स्वास्थ्य स्वयमसेविकाहरुको अवकासमा नगद ५० हजार सहितले सम्मान र बारुणयन्त्र (दमकल) खरिदको टेण्डर प्रक्रिया सहितका योजनाहरु रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यी योजना तथा कार्यक्रम अव आउने नगरको समितिले पनि निरन्तरता दिँदै जाने अपेक्षा गरिएको उल्लेख छ ।चालु आर्थिक वर्षको विनियोजित बजेटमध्येमा ०७८ साउन १ देखि फागुन ९ गतेसम्ममा पूँजीगत खर्चतर्फ योजना सम्पन्न ४० प्रतिशतको हाराहारीमा भएको र त्यसबापतको खर्च रकम १९.१० प्रतिशत निकासा भइसकेको छ । चालु खर्चतर्फ ४९ दशमलव ९९ प्रतिशत खर्च भइसकेको छ ।
५ वर्षको अवधिमा नगर क्षेत्रभित्र करीव ३५ किलोमिटर सडक कालोपत्रे भएको छ । २६ वटा कल्भर्ट निर्माण भएका छन् । नगरको मुख्य समस्याको रुपमा रहेको बसोबासको समस्याका लागि भूमि आयोगले बाँकी रहेको तथ्यांक प्रविष्टिकरणको काम निरन्तर अघि बढाउने क्रममा वडा नम्बर १ बाट क्रमशः वडा नम्बर ६ सम्मको पुरा भई ७ को काम भइरहेको छ । प्रविष्टिकरण पुरा भएका वडाको नापीको प्रक्रिया अघि बढाउने जनाउँदै आयोगले नापी कर्मचारी पठाएको र अव प्रक्रिया अघि बढाउने वताएको छ । केन्द्रको विवादका विषयमा जारी अदालती मुद्धाले नगरको कार्यालय भवन बनाउन समस्या भएको नगरले उल्लेख गरेको छ । वडा नम्बर १ र १० को वडा कार्यालयका लागि सरकारले वजेट निर्णय गरेर पठाएको छ ।
जग्गा उपलब्ध भएमा त्यसको टेण्डर प्रक्रिया अघि बढने छ । वडा नम्बर २, ३, ७, ८, ९ को कार्यालय भवन निर्माण सम्पन्न भइ उपयोगमा आएका छन् । वडा नम्बर ५ र ६ को साविक हसन्दह गाविसको भवनमा र वडा नम्बर ४ को साविक शनिश्चरे गाविस भवनमा कार्यालय सञ्चालनमा छ । वडावडामा स्वास्थ्य उपचारको पहुँच पुर्याउने क्रममा वडा नम्बर १० को आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन उपयोगको चरणमा पुगेको छ । त्यस बाहेक वडा नम्बर १, ३, ४, ६, ७, ८ मा भवन बनेर सञ्चालनको अवस्थामा छ । वडा नम्बर २ मा नगर अस्पताल, ५ मा हसन्दह स्वास्थ्य चौकी र ९ मा शनिश्चरे स्वास्थ्य चौकी छ । नगर अस्पताल, आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरी अमुल्य सहयोग पुर्याउनु भएको छ ।
वडा नम्बर १ मा पशुवधशाला निर्माण सम्पन्न भएको छ । वडा नम्बर ३ मा पशुपंक्षीको उपचारका लागि भेटेरीनरी अस्पताल निर्माणको चरणमा छ । बुद्धमार्ग, रजतजयन्ती मार्ग र दोहोलु शुक्रबारे सडक कालोपत्रे गर्ने कार्य नगरले क्रमागत योजनाका रुपमा अघि बढाइरहेको छ । ‘दलितसँग प्रमुख’ र ‘छात्रासँग उपप्रमुख’ कार्यक्रम सञ्चालनमा छ । सडक मानवलाई उद्धार गरी मानवसेवा आश्रम विराटनगरमा १४ जना र मायाघर इटहरीमा २ जना तथा माइती नेपाल र ओरेक नेपालमा पनि उद्धार गरी राखिएको छ ।
नगर कार्यपालिकाको हालसम्म कुल १२६ (चालु आर्थिक वर्षको ९) वटा बैठक बसेको छ । न्यायपालिकाको न्यायिक समितिले न्याय सम्पादनमा प्रदेशमै उत्कृष्ठ कार्य गर्दै आइरहेको अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगले देशमै उत्कृष्ठ कार्यसम्पादन गरेको जानकारी गराएको छ । वडा मेलमिलाप केन्द्र र न्यायिक समितिले गरी हालसम्म २०९० वटा उजुरीमा मेलमलिापको माध्यमबाट न्याय निरुपण गरेको छ ।