माघ १७ गते, काठमाडौं । स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने कारखाना ललितपुरमा भेटिएको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबल लगायतका विदेशी ब्राण्ड र खुकुरी रम, एटएटफोरएट लगायत नेपाली कम्पतीका ब्राण्डैड मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ ।
नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एपल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान् भोड्का १३२ बोतल बरामद गरेको जानकारी गराएको छ ।
त्यसैगरी प्रहरीले नक्कली मदिरा प्रयोग गर्न राखिएका स्वदेश तथा विदेशी ब्राण्डका खाली बोतलसमेत ठूलो परिणाममा बरामद गरेको छ । खुकुरी रमका ३९३, डबल ब्लयाकका १५, रेड लेबलका ५ थान, ज्याक ड्यानियल ६५ थान, सिग्नेचर ग्रिन ६७ थान, रुस्लान ५८ थान, सिग्नेचर रेड ३५ थान, गोल्डेन ओके ३३२ थान, वल्ड दरबार २३ थान, ८८४८ भोड्का ६ थान र आइकनिक भोड्काका ६० थान बोतल बरामद गरेको हो ।