कोही आफ्न्त नआएपछि ५ दिनमा शव गाडियो

चैत्र १३ गते, कानेपोखरी । शव बुझ्न आफ्न्त कोही पनि नआएपछि बेवारीसे एक पुरुषको शवलाई कानेपोखरी जंगलमा गाडिएको छ ।

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलवारे अस्पतालको शवगृहमा ५ दिन सम्म शव राख्दा पनि पहिचान हुन नसकेपछि आइतबार शव गाडिएको हो । कानेपोखरी नगरप्रहरी युवराज भुजेलको नेतृत्वको टोलीले शव बुझी कानेपोखरी जंगलमा खाल्टा खनी गाडेको थियो ।

चैत्र ७ गते मंगलबार विहान मोरङको कानेपोखरीको ७ स्थित वडा कार्यालय छेउमा विहान ९ः३० बजे मृत अवस्थामा स्थानीयहरुले फेला पारेको थियो । सोही दिन इप्रका पथरी र कानेपोखरी नगरप्रहरीले पोष्टमार्टमको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलवारे अस्पतालको शवगृहमा लगेका थिए ।

तराई मुलबासी अन्दाजी ४० बर्षको जस्तो देखिने पुरुषको परिचय खुल्ने कागज केही पनि थिएन । वडा नं. ७ कै आइतबारे बजारमा केही समय देखी बास बस्दै आएका ती व्यक्ति कानेपोखरी चोकमा मागेर खाने गर्दै आएका थिए ।

इप्रका पथरीले सामाजिक सञ्जालमा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलवारे अस्पतालको शवगृहमा राखेर सामाजिक सञ्जालमा चिन्नुहुनेले सम्पर्क राख्न अनुरोध गरेका थिए ।

सम्बन्धित खवर