बैशाख २३ गते, विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरुलाई प्रदेशभरी सरुवा गर्नसक्ने अध्यादेश ल्याएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यहि बैशाख १४ गते सार्वजनिक सूचना जारी गरेर सो कुरा जानकारी गराएको हो । स्थानीय सेवा सञ्चालन ऐन सम्बन्धी अध्यादेश जारी गरेको प्रदेशको राजपत्रमा प्रकाशित गरिएको छ ।
नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशप्रमुख परशु खापुङबाट सो अध्यादेश प्रमाणीकरण भएको हो ।
प्रदेश सचिवले तयार पारेको १५६ पृष्ठको लामो अध्यादेशमा नगरपालिका र गाउँपालिकामा खटिएका सबै तहका कर्मचारीलाई कोशी प्रदेशभरी जहाँ पनि सरुवा गर्न सक्ने कानुन पारित गरेको छ ।
एक महिला कर्मचारीले सो ऐन लागु भए तत्कालै राजीनामा दिने बताइन् । ‘बुढेसकालमा पोको बोकेर कहाँ जानु’, ती कर्मचारीले भनिन –‘अन्त जानु भन्दा राजीनामा दिएकै ठिक हुनेछ ।’
स्थानीयहरु यो अध्यादेश चाँडो लागु भए पालिका राम्रो हुने दावी गरे । उनका अनुसार पालिकामा जरा गाडेर बसेका कर्मचारीलाई सरुवा गर्नैपर्छ, अनिमात्र पालिका सुध्रिन्छ ।
देशको लागि, राष्ट्रका लागि सेवा गर्ने राष्ट्रसेवक कर्मचारीहरुले मुलुकको जुनसुकै ठाउँमा गएर भएपनि सेवा दिनु पर्ने उनको भनाई छ । आवश्यकता अनुसार कर्मचारीलाई स्थानीय सरकारले सिफारिस गरेर प्रदेश सरकारमा पठाएपछि सम्बन्धित मन्त्रालयले कोशी प्रदेशभरी जहाँ पनि खटाउन सक्ने प्रावधान छ ।