२५ असार, विराटनगर । सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ ।
मंगलबार एक कार्यक्रम बिच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भवनको उद्घाटन गरेका थिए । सो भवन महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानी निर्माण गरिएको हो ।
जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूसँगै संक्रामक रोग पनि भित्रिने जोखिम भएका कारण नवनिर्मित भवनबाट नियमित चेकजाँच गरिनेछ । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड अनुसार हरेक प्रमुख नाकामा हेल्थ डेस्कको व्यवस्था गर्नुपर्ने हुन्छ । जसअन्तर्गत नेपाल सरकारको नीतिअनुसार महानगरले रानी नाकामा यसअघिदेखि नै महामारी नियन्त्रणका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । विगतमा भवन नहुँदा टेन्टमार्फत सेवा सञ्चालन हुँदै आएको थियो ।
नेपाल सरकारले राज्यका प्रमुख नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी यात्रुहरूको स्वास्थ्य परामर्श, परीक्षण, निदान वा प्रेषण सेवामार्फत संक्रामक रोगको नियन्त्रण र निवारणमा सहयोग पुग्ने विश्वास लिइएको छ । हाल पनि स्वास्थ्य सहायता कक्षमार्फत एचआईभी, एड्स, क्षयरोग, मलेरिया (औलो), कोभिडलगायतका संक्रामक रोगलाई प्राथमिकतामा राखेर चेकजाँच जारी राखिएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिए ।
गत वैशाख १८ गते निर्माण सुरु भएको भवन असार २० गते सम्पन्न भएको थियो । महानगरपालिकाको २० लाख रुपैयाँ र सेभ द चिल्ड्रेनको १५ लाख ७६ हजार लागतमा निर्माण गरिएको भवनको चाबी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश सरकारका प्रतिनिधिको उपस्थितिमा सेभ द चिल्ड्रेन ग्लोबल फण्ड कार्यक्रमका प्रमुख दीपक पौडेलले मेयर कोइरालालाई हस्तान्तरण गरेका थिए ।