Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
कानेपोखरीको बजेट ६५ करोड ५७ लाख - Nigranitimes

कानेपोखरीको बजेट ६५ करोड ५७ लाख

दुर्गानारायण खतिवडा
२ साउन, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले १६ औं गाउँसभाबाट पारित बजेट सार्वजनिक गरेको छ । मंगलबार पालिकामा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०८१।०८२ को लागि गाउँसभाबाट पारित कानेपोखरीको बजेट ६५ करोड ५७ लाख  २५ हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको हो ।

कानेपोखरी गाँउ कार्यपालिकाका प्रवक्ता सुशील बुढाथोकीले आर्थिक बर्ष २०८१।२०८२ का लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानहरू, घरजग्गा रजिस्ट्रेसन आय, वडाबाट प्राप्त हुने आय, बैंक मौज्दात, अल्या रकम सहित कूल ५८ करोड ५७ लाख २५ हजार रुपैयाँ अनुमानित आय प्रस्तुत गरेका थिए । जसमध्ये चालु प्रशासनिक खर्च कूल ८ करोड १ लाख रूपैयाँ, पूर्वाधार निर्माणका लागि ३ करोड ९६ लाख रूपैयाँ, आर्थिक विकासका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ, शिक्षा तथा सामाजिक विकासमा ५ करोड २१ लाख ९६ हजार ४५ रूपैयाँ, वन, वातावरण तथा विपद व्यवस्थापनका निमित्त १ करोड १६ लाख, लगायतका विभिन्न शिर्षकहरूमा पुँजीगत खर्च विनियोजन गरिएको जानकारी गराएको थियो ।

पालिकाका कुल ७ वटा वडाहरुको लागि ४ करोड ४७ हजार रुपैयाँ बराबरको वडागत सिलिङ्ग बजेट प्रस्तुत गरिएको थियो । जसमा ४८ सय ४५ मिटर कालोपत्रे र २८ सय मिटर ड्रेन सहितको सडक स्तरोन्नति गरिने, प्रशासनिक भवन निर्माणको लागि ५० लाख, नागरिक आवास निर्माणका लागि साझेदारी गर्नका लागि १ करोड, सुरक्षित आवास निर्माणमा साझेदारी गर्नका लागि ५० लाख, जस्ता विभिन्न योजनाहरु सञ्चालनका लागि समेत बजेट विनियोजन गरिएको जनाए ।

गाउँपालिकाले निरन्तर रूपमा रायो तथा तोरीजन्य उत्पादन जस्तै रायोको गुन्द्रुक, तोरीको तेल उत्पादन तथा प्रशोधन, मस्यौरा, आदिको उत्पादन गर्नका लागि वर्षेनी बजेट विनियोजन गरिरहेको छ । यस बर्षदेखि कोशी प्रदेश सरकारले गुन्द्रुक प्रशोधनका लागि ड्रायर र रोलर खरिदका लागि ७ लाख रूपैयाँ बराबरको सहयोग प्रदान गर्ने पत्रकार सम्मेलनमा बताए ।

असार ३१ गते सम्पन्न भएको गाउँ सभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८१ का लागि आर्थिक विद्येयक, विनियोजन विधेयक, जलस्रोत उपयोग तथा व्यवस्थापन सर्वेक्षण संशोधन, अघिल्लो आर्थिक वर्ष २०८०।२०८१ मा भएका गाउँ कार्यपालिकाको बैठकका निर्णयहरू अनुमोदन गरिएको कानेपोखरी गाँउपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताएका छन ।

प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी, सासुको इच्छा बुहारीलाई शिक्षा, छात्रासँग अध्यक्ष कार्यक्रम, नागरिक सहायता, घरमै गएर जन्मदर्ता अभियान, भूमि सम्बन्धीको कार्य, कोसेली घर निर्माण, आदि कार्यक्रमहरू संचालन गरिने भएको छ । पत्रकार सम्मेलन गाउँपालिका अध्यक्ष राजमती इङ्नामको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव, वडाध्यक्षहरु गोपाल कार्की र मोहनप्रसाद अधिकारी तथा विभिन्न विषयगत शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कानेपोखरी गाउँपालिकामा जनप्रतिनिधिहरु निर्वाचित पच्छात पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

सम्बन्धित खवर