दुर्गा नारायण खतिवडा
१९ असोज, पथरी । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले इलाका प्रहरी कार्यालय पथरीको नवनिर्मित भवन उद्घाटन गरेका छन् । शुक्रबार डीआईजी खापुङले एक कार्यक्रम बीच रिवन काटेर प्रहरी बस्ने भवनको उद्घाटन गरेको हो ।
कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो र कानेपाखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामको उपस्थितमा डीआईजी खापुङले औपचारीक रुपमा भवन उद्घाटन गरेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख खापुङले भवन निर्माणका लागि सहयोग गर्नुहुने प्रहरी, स्थानीय पालिकाहरु र निर्माण समितिलाई धन्यवाद दिएका थिए । खरिद ऐनको कारण अमानतमा भवनहरु बनाउन समस्या भइरहेको भन्दै प्रहरीसँग जनशक्ति भएको कारण संघ र प्रदेशबाट सिधै स्थानीय तहमा बजेट आए सानो रकमले ठूलो काम गर्न सकिने खापुङ्गले बताए । टेण्डर प्रक्रियामा जाँदा सानो भवनको लागि पनि एक करोड भन्दा माथिको बजेट हुनुपर्ने र त्यो भन्दा सानो रकमको भवन बनाउन मुस्किल पर्ने उल्लेख गरे ।
डीआईजी खापुङले प्रहरी कार्यालयमा भवनहरु बनाउन पहल गर्ने प्रतिवद्धता गर्दै लागु औषध नियन्त्रण भने प्रहरी एक्लैले गर्न नसक्ने बताए । डीआईजी खापुङले इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल आएपछि ठूलो मात्रामा लागुऔषध नियन्त्रणमा लिएको, कारोबारमा संलग्न महिलासमेत पक्राउ गरेको, लागुऔषध विरुद्ध अभियान चलाएको प्रसंग उल्लेख गर्दै यसमा स्थानीय सरकार, पार्टी र स्थानीय संघ, संस्थाहरु समेत लाग्नुपर्ने बताए ।
भवनको लागि पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले बजेट विनियोजन गरेका थिए । थप अपुग रकम सहयोग संकलन गरेर भवन निर्माण पुरा भएको भवन निर्माण समितिले जनाएको छ ।
कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख तुम्बापो र कानेपाखरी गाउँपालिका अध्यक्ष लिम्बूले अस्थायी प्रहरी चौकीहरु स्थायी गर्न, भवन निर्माणको लागि विभागमा पहल गर्न र लागु औषध नियन्त्रणको लागि विशेष पहल गर्न प्रदेश प्रहरी प्रमुख डीआईजी खापुङलाई अनुरोध गरे ।
भवन निर्माणको लागि सहयोग गर्ने पथरीशनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका, पथरी उद्योग वाणिज्य संघ, रंङ रोगनमा सहयोग गर्ने राजेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका तत्कालिन इप्रका प्रमुख डीएसपी बेदप्रसाद गौतम लगायतलाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।
इलाका प्रहरी कार्यालयमा निर्माण सम्पन्न भएको चार कोठे भवनमा १८ लाख २१ हजार २ सय खर्च भएको प्रतिवेदन प्रस्तुत भएको छ ।
भवन निर्माणको लागि रुपनारायण भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त रकम पथरीशनिश्चरे नगरपालिकाबाट १२ लाख, कानेपोखरी गाउँपालिकाबाट ५ लाख ८० हजार र बाँकी रकम विभिन्न व्यवसायीहरुबाट संकलन भएको निर्माण समितिका सचिव ईश्वरी साप्कोटाले बताए । कार्यक्रममा सचिव साप्कोटाबाट प्रतिवेदन प्रस्तुत भएको थियो । कार्यक्रम इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविदत्त मोतेले सञ्चालन गरेका थिए ।
कार्यक्रममा मोरङ जिल्ला प्रहरी प्रमुख एसपी नवराज कार्की लगायतका विभिन्न कार्यालयका प्रहरी प्रमुखहरु उपस्थित रहेका थिए । कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्ले, पूर्व प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट, दुवै पालिकाका वडा अध्यक्षहरु, संविधान सभाका सदस्यद्वय चण्डिप्रसाद राई, लालबहादुर सुश्लिङ मगर, विद्यालयका प्रअ, प्रतिनिधिहरु, पार्टी प्रतिनिधिहरु, जेसीज र लायन्सका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।
इलाका प्रहरी कार्यालयमा निर्माण सम्पन्न भएको चार कोठे भवनमा १८ लाख २१ हजार २ सय खर्च भएको प्रतिवेदन प्रस्तुत भएको छ ।
भवन निर्माणको लागि रुपनारायण भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो । सो रकम पथरीशनिश्चरे नगरपालिकाबाट १२ लाख, कानेपोखरी गाउँपालिकाबाट ५ लाख ८० हजार र बाँकी रकम विभिन्न व्यवसायीहरुबाट संकलन भएको निर्माण समितिका सचिव ईश्वरी सापकोटाले बताउनु भयो । कार्यक्रममा सचिव सापकोटाबाट प्रतिवेदन प्रस्तुत भएको थियो ।