पथरी शनिश्चरेमा लाहा खेती सम्बन्धि अन्तरक्रिया

२० माघ, पथरी । नेपाल पत्रकार मञ्च पथरीशनिश्चरेको आयोजनामा लाहा खेती सम्बन्धी लाहा खेती प्रवद्र्धनमा मिडियाको भूमिका विषयमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार पथरी शनिश्चरे १० स्थित शिविर डाँडामा भएको कार्यक्रमममा विराटनगरदेखि मोरङ पूर्वका पत्रकारहरुको उपस्थितमा अन्तरक्रिया सम्पन्न गरेको हो ।

कार्यक्रममा लाहा खेती विज्ञ डम्बर बिश्वकर्मा र डिभिजन वन कार्यालय मोरङका पूर्व प्रमुख बिष्णु घिमिरेले सहजीकरण गरेका थिए । पत्रकार मोहन भट्टराईको संचालन रहेको कार्यक्रममा सव भिडिजन वन कार्यालय पथरीका वन अधिकृत कृष्ण चोङ्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा रहेका थिए । त्यस्तै राजेश धिमिरे, इन्द्रदेव राउत र पशुपती सामुदायिक वनका अध्यक्ष पुष्कर शाही उपस्थित रहेका थिए । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव धु्रव भट्टराई पनि अतिथि रहेका थिए ।

लाहा खेती मोरङको पथरी शनिश्चरेको पशुपती सामुदायिक वन र महिला जागृती सामुदायिक वनमा सुरु गर्न लागिएको पत्रकार मोहन भट्टराईले बताए ।

लाहा प्राकृतिक रुपमा रुखमा भेटिने एक प्रकारको किरा हो । यसको खेतीमा खास धेरै मेहनत गर्नुपर्दैन । एकपटक लगाएपछि वर्षमा दुईपटक संकलन गर्न सकिन्छ । फर्निचर उद्योग, सुन पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा अहिले भारतीय बजारबाट आउने गरेकाले स्वदेशमा नै यसको उत्पादन गर्ने उद्देश्यले यहाँ पनि लगाउन सुरु गरेको डिभिजन वन कार्यालय मोरङ पूर्व कार्यालय प्रमुख बिष्णु घिमिरेको भनाइ छ ।

तल्लो भेग तथा नदी खोला आसपासका खयर, बयरलगायतका प्रजातिका रुख भएका जंगल लाहा खेतीको लागि उपयुक्त रहेको कार्यालयले जनाएको छ । लाहाको व्यवसायिक खेती विस्तारलाई जोड दिन कृषकलाई आवश्यक सहयोग गर्ने डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाको भनाइ छ ।

खयर, बयरसँगै लाहा खेती विस्तार गर्न सकिने सामिया लता जातको बिरुवा सव–डिभिजन वन कार्यालय लेटाङले पनि उत्पादन गरेको छ । बजारमा लाहाको माग धेरै रहेको झापामा चप्रा उद्योग सञ्चालन गरिरहनुभएका डम्बर विश्वकर्माले बताए । लाहालाई खयर, बयर, मौवा प्रजातिका रुख विरुवासँगै सामिया लता जातको विरुवालाई विस्तार गरेर व्यवसायिक रुपमा खेती गर्न सकिने उनको भनाइ छ । डम्बर बिश्वकर्मा आफैले झापामा पहिलो पटक लाहा खेती गरेका छन् ।

भारतको पश्चिम बङ्गालको उद्योगमा काम गर्दा नेपालमा चप्रा बिक्री हुन थालेको देखेपछि स्वदेशमै उद्योगको सम्भावना देखेर आफूले उद्योग खोलेको उद्योगी विकले बताए ।

लाहाको कच्चापदार्थ प्रतिकेजी रु २५० देखि छ सयसम्म र यसको प्रशोधन गरेपश्चात प्रतिकेजी रु एक हजार ८०० देखि दुई हजारसम्ममा बिक्री हुने गरेको कृषक विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माले गौरदहमा १० हजार समिया लत्ता विरुवा लगाएका छन् । लाहाको खेती १५ देखि ३५ डिग्रिसम्मको तापक्रममा उत्पादन हुन्छ । मोरङको राजमार्गदेखि उत्तर क्षेत्रमा लाहा खेती हुने विज्ञहरुले बताएका छन् ।

लाहा खेती
विशेष रुखका नरम हाँगामा टाँसिएर त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिन्छ ।

लाहाका प्रकार
क) भाले लाहा
लाहा भाले र पोथी गरी दुई प्रकारका हुन्छन् । भाले लाहा खुट्टा, आँखा, टाउको भएको १४÷१५ मिलिमिटर लम्बाइको तथा कलेजी रङको हुुन्छ । पोथीसँग यौन सम्पर्क भएपछि यसको मुख कुच्चिन्छ । जसले गर्दा खान नसकेर दुई÷तीन दिनमै मर्छ । एउटा भालेले ४० वटा पोथीसँग यौनक्रिडा गर्न सक्छ ।

ख) पोथी लाहा
यसको आकार चारदेखि पाँच मिलिमिटर तथा कलेजी रङको हुन्छ । पोथी लाहा जीवनपरन्त एक ठाउँबाट अर्को ठाउँमा हिँड्दैन । किनकि यसको आँखा, कान, खुट्टा हुँदैन । यसको पेट, मुुख र मलद्वार मात्र हुन्छ ।

लार्भा अवस्थामा लाहा भाले वा पोथी के हो छुट्टिएको हुँदैन । जब भाले वा पोथी छुट्टिन थाल्छ त्यसबेला पोथी लाहाको पेट, मुख र मलद्वारबाहेक कुनै अङ्ग बाँकी रहँदैन । यसको आयु अन्डा उत्पादनपछि सकिन्छ ।
पोथी र भालेको घर अलग अलग हुन्छ । सहवास गर्ने बेलामा भाले आफ्नो घरबाट निस्केर पोथीको शरीरमाथि पुग्छ ।

रङ्गिन लाहा
यो वर्षमा दुई पटक उत्पादन हुन्छ । पहिलो चार महिना र दोस्रो आठ महिनामा उत्पादन हुने गर्छ । वैशाख÷जेठमा लगाएको लाहा असोज कात्तिमा झिक्नु पर्छ । असोज कात्तिकमा लगाएको लाहा वैशाख÷जेठमा झिक्ने गरिन्छ । गर्मी महिनामा चार महिनामा उत्पादन हुन्छ भने जाडो महिनामा लाहा उत्पादन हुन पाँच महिना लाग्छ ।

कुसुमी
यो छ÷छ महिनामा उत्पादन हुन्छ । असार÷साउनमा लगाइन्छ र माघ÷फागुनमा झिक्नु पर्छ । माघ÷फागुनमा लगाएको असार÷ साउनमा झिक्नु पर्छ । व्यावसायिक दृष्टिले रङ्गिन लाहाभन्दा कुसुमी लाहा उत्कृष्ट मानिन्छ । रङ्गिन लाहाको उत्पादन कम हुन्छ । यसबाट उत्पादन भएको लाहा कमसल मानिन्छ । रङ्गिन लाहाको तौल पनि बढी हुने गर्छ । रङ्गिन लाहाभन्दा कुसुमी लाहाको उत्पादन मूूल्य र सामानको टिकाउपन पनि बढी हुन्छ ।

लाहा उत्पादन हुने रुख
नेपालमा रङ्गिन लाहा पलाँस, सिरिस, पिपल, बयर, रहर, लिची, मौवा आदि प्रजातिको रुखमा उत्पादन हुन्छ । कुसुमी लाहाको उत्पादन कुसुम, सेमियालता, बयर, खयर आदि प्रजातिका रुखमा हुने गर्छ ।

लाहा उत्पादन
भाले र पोथीको यौनक्रिडापश्चात् पोथी कीराको शरीरमा परिवर्तन हुन्छ । त्यसले हाँगाको रस अत्यधिक चुस्ने गर्छ, अनि अण्डा पार्नका लागि आफ्नो घर निर्माण गर्छ । पोथीको शरीरबाट एक प्रकारको गम वा नरम पदार्थ निस्कन्छ, जसलाई लाहा भनिन्छ । लाहा भालेले बनाउन सक्दैन । लाहा उत्पादनका लागि मनसुनी वर्षा र १५ डिग्री सेल्सियसदेखि ४०÷४५ डिग्री सेल्सियसम्म तापक्रम राम्रो मानिन्छ । वातावरणका दृष्टिले नेपालमा यसको खेती उपयुक्त देखिन्छ ।

यसको बजार
लाहाको प्रयोग फर्निचरको रङ, गरगहना, मेकअपका सामान, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप, हातहतियार आदिमा प्रयोग गरिन्छ । त्यसैले यसको बजार नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत छ ।

प्रशस्त लाहाका लागि कच्चा पदार्थ हुने हो भने पूर्वी नेपालका हरेक नागरिकले मनग्ये आम्दानी गर्न सक्ने उनको भनाइ छ । लाहाको बजार नेपालमा ठूलो छ यहाँ धेरै लाहा खपत हुन्छ, गुणस्तरीय लाहा उत्पादन गर्न सकिए विदेश निर्यात गरेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ ।

सम्बन्धित खवर