
पुस, लेटाङ । मोरङको लेटाङ –३ को कीर्तिमान सामुदायिक वन उपभोक्ता समूहले खोला ठेक्काको प्रक्रियाप्रति आपत्ति जनाउँदै लेटाङ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
समितिका अध्यक्ष लक्ष्मण बहादुर राईको नेतृत्वको टोलीले नगरप्रमुख भुपेन्द्र कुमार लावतीलाई ज्ञापनपत्र बुुझाएको हो । टोलीले ज्ञापनपत्र बुझाउँदै स्थानीय समुदायको सरोकार र सुरक्षा बेवास्ता गरिएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ ।
लक्षित वर्ग समुदाय तथा विषयगत समितिहरूसँग सुझाव र राय संकलन गर्ने पूर्व निर्धारित कार्य कार्यान्वयन नगरी नगरपालिकाले एकतर्फी रूपमा खोला ठेक्का लगाएको आरोप समूहले लगाएको छ ।
उनीहरूले खोला ठेक्काजस्तो संवेदनशील विषयमा सरोकारवालासँग छलफल, जोखिम मूल्यांकन र दीर्घकालीन व्यवस्थापन योजना अनिवार्य हुनुपर्नेमा जोड दिएका छन् ।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार चिसाङ खोला व्यवस्थापन समितिले यसअघि सुझाव संकलन गर्ने क्रममा जोखिम क्षेत्रका बस्तीको सुरक्षा, तटबन्ध निर्माण, कुलो–पैनी जस्ता आधारभूत पूर्वाधारको संरक्षण र निर्माणलाई पहिलो प्राथमिकतामा राखेर मात्र खोला ठेक्का दिनुपर्ने सुझाव पेस गरेको थियो । तर ती सुझावहरूलाई बेवास्ता गर्दै नगरपालिकाले ठेक्का प्रक्रिया अगाडि बढाएको उपभोक्ता समूहको दावी छ ।
उपभोक्ता समूहले खोला उत्खननका कारण बाढी–पहिरोको जोखिम बढ्ने, कृषियोग्य जमिन कटान हुने तथा स्थानीय बासिन्दाको जीवन र सम्पत्तिमा प्रत्यक्ष असर पर्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेको छ । विशेषगरी जोखिम क्षेत्र नजिकका बस्तीमा पर्याप्त तटबन्ध र सुरक्षात्मक संरचना नबनाइ खोला ठेक्का लगाइनु गैरजिम्मेवार कदम भएको उनीहरूको ठहर छ ।
यसै सन्दर्भमा उपभोक्ता समूहले आवश्यक पूर्वाधार निर्माण, बस्ती सुरक्षाको सुनिश्चितता र सरोकारवालासँगको सहमति बिना नदिजन्य पदार्थ उत्खनन (खोला ठेक्का) अघि नबढाउन माग गर्दै उक्त विषयलाई पनि ज्ञापनपत्रमा समेटेको जनाएको छ । मागहरू सम्बोधन नभएसम्म नदिजन्य पदार्थ उत्खनन रोक्नुपर्ने उनीहरूको अडान छ ।
नगरप्रमुख भुपेन्द्र कुमार लावतीले ज्ञापनपत्र बुझ्दै उठाइएका विषयहरू गम्भीर रहेको भन्दै आवश्यक छलफल र अध्ययनपछि उचित निर्णय लिने आश्वासन दिएको उपभोक्ता समूहले जनाएको छ । यद्यपि स्थानीय समुदायका माग र सुझावलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड रहेको छ ।



