बुधबार, बैशाख २, २०८३

जग्गा पास बेलबारी, लेटाङ र उर्लाबारी नगरपालिकाबाटै हुने

५ फागुन, लेटाङ । मोरङको बेलबारी, लेटाङ र उर्लाबारी नगरपालिकाबाटै ‘भू–सेवा केन्द्र’ सञ्चालन हुने भएको छ ।

मालपोत कार्यालयको सेवा पालिकाबाटै प्रदान गर्ने उद्देश्यका साथ तीन वटा पालिकाबाट ‘भू–सेवा केन्द्र’ सञ्चालन गर्ने विषयमा सोमबार नगरपालिका र मालपोत कार्यालय बेलबारी बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

बेलबारी नगरपालिकाका नगर प्रमुख डीपी राई र उपप्रमुख नितु थापा, लेटाङ नगरपालिकाका नगर प्रमखु भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको उपस्थितिमा मालपोत कार्यालय बेलबारीका निमित्त प्रमुख किरणकुमार केसी र सम्बन्धित नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृतहरुले समझदारी पत्रमा हस्ताक्षर गरि एकअर्कामा समझदारी पत्र आदन–प्रदान गरेका थिए ।

स्थानीय तहबाट मालपोत सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा कित्ताकाट हुने बाहेकका ससिम जग्गाहरुको नामसारी, रोक्का लगायतका सेवा प्रदान गरिने जनाइएको छ ।

मालपोत कार्यालय बेलबारीका निमित्त प्रमुख किरणकुमार केसीका अनुशार पहिलो चरणमा ससिम प्रकृतिका जग्गाहरुको राजीनामा पास, बकसपास, सट्टापट्टा, नामसारी, फुकुवा लगायत सेवा प्रदान गरिनेछ । मुलुकी देवानीको २३९ क र ख अनुशार पतिपत्नि, छोराछोरी र विदुवा बुहारीको नाममा जाने जग्गाहरु नामसारी गरिने उहाँले जानकारी दिनुभयो ।
पालिकाबाट प्रकृया सुरु गरेपछि अनलाइनबाटै मालपोत कार्यालयमा विवरण पठाइने र मालपोत कार्यालयबाट जग्गा रोक्का हेर्ने, मोठ भिडाउने, राजश्व लिने, पास गरेर स्थानीय तहलाई नै सिस्टमबाट स्क्यान गरेर पठाइने मालपोत कार्यालय बेलबारीका निमित्त प्रमुख केसीले जानकारी दिनुभयो । उहाँका अनुशार सबै प्रकृया पुरा गरेपछि जग्गा धनिपूर्जा समेत पालिकाबाटै प्रदान गरिनेछ ।

समझदारी पत्रमा भए अनुशार सेवा प्रदान हुँदा मालपोत कार्यालयको करिव ७० देखि ८० प्रतिशत काम पालिकाबाटै हुने उहाँको भनाइ छ । सुरुमा कित्ताकाट बाहेकका सेवा प्रदान गर्ने तयारी गरिएकोमा भविश्यमा अन्य सेवा पनि थप गर्दै जाने योजना अनुशार समझदारी पत्रमा हस्ताक्षर गरिएको उहाँले जानकारी दिनुभयो ।

अब यी तीनै नगरपालिकाका नागरिकहरूले जग्गाको रोक्का, फुकुवा, नामसारी तथा अन्य मालपोतसम्बन्धी अनलाइन सेवाहरू लिनका लागि मालपोत कार्यालय धाइरहनु पर्ने झन्झट अन्त्य हुने भएको छ

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.