१३ असार, बेलबारी । नेकपा एमाले बेलबारी नगर कमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरी तीन जनालाई कारबाहीका लागि मोरङ जिल्ला कमिटीमा सिफारिस गरेको छ ।
बेलबारी –१ का माधवराज थापा, बेलबारी वडा नम्बर–३ वडा कमिटी अध्यक्ष तथा वडा सदस्य भोगेन्द्र चाम्लिङ राई, र बेलबारी–७ वडा कमिटीका अध्यक्ष तथा वडा सदस्य रामकुमार घिमिरेलाई पार्टीबाट निष्कासन गर्न जिल्ला कमिटीमा सिफारिस गरिएको हो ।
पार्टीको नीति तथा संगठनात्मक अनुशासन विपरीत अन्य राजनीतिक दलमा आबद्ध भएको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको नेकपा एमाले बेलबारी नगर कमिटीका अध्यक्ष शंकर गुरुङले बताए ।
थापा र घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् भने राई श्रम संस्कृति पार्टी मा आबद्ध भएका छन् । यसअघि बेलबारी ३ का वडाध्यक्ष रहेका योगेन्द्रप्रसाद सुवेदीलाई कारबाहीका लागि जिल्लाले केन्द्रमा पत्रचार गरिसकेको छ ।



