मङ्लबार, भदौ ९, २०८३

१५० औं जयपृथ्वी जन्मजयन्तीका अवसरमा सर्जकहरुलाई सम्मान, १० कृतिको लोकार्पण

८ भदौ, मोरङ । नेपाल बालसाहित्य समाज(नेबासास)ले विभिन्न अग्रज एवं अनुज स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरेको छ । १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा आइतबार ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नेबासास जयपृथ्वीबहादुर सम्मानसहित विभिन्न दाताले स्थापना गरेका पुरस्कार प्रदान गर्नुका साथै दस पुस्तकको विमोचन गरियो ।

नेबासास जयपृथ्वीबहादुर सम्मान नेबासासका पूर्वअध्यक्ष एवं नेपाली बालसाहित्यका इतिहासकार प्रमोद प्रधानलाई प्रदान गरियो ।

कार्यक्रममा प्रा. डा. चूडामणि बन्धुलाई नेबासास तेजप्रतिभा बालनियात्रा÷लोकवार्ता पुरस्कार, तेजप्रकाश श्रेष्ठलाई नेबासास मुकेश जनक बालविज्ञान पुरस्कार, प्रभात सापकोटालाई नेबासास चूडा–चरण बालजीवनी पुरस्कार, डा. जयन्ती रुपाखेतीलाई नेबासास ध्रुव–सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार र अमेरिकामा रहेका आभास अर्याललाई नेबासास विमला–मोहन प्रवासी बालस्रष्टा पुरस्कार प्रदान गरियो । सम्पूर्ण पुरस्कारको राशि १५ हजार रुपैयाँ थियो ।

त्यस्तै, आयन्स जवालीलाई नेबासास जयपृथ्वीबहादुर बालस्रष्टा पुरस्कार र अमृत विकलाई नेबासास जयपृथ्वीबहादुर बालकला पुरस्कार प्रदान गरियो ।

दस बालपुस्तकको लोकार्पण
नेबासासका महासचिव डा. विष्णु केसीको सम्पादनमा तयार बालसाहित्यका विधाः सिद्धान्त र परम्परा, केसीकै लेखनमा तयार कमिलाको बानी, इन्द्रेणी र चन्द्रबहादुर नामका तीन बालपुस्तक, नेबासासका अध्यक्ष विजयराज आचार्यको उपन्यास हितुवा र उनकै अनुवादमा तयार चिनियाँ बालउपन्यास जादुको छडी, कृष्ण बजगाईंका दुई उपन्यास स्यालको सिङ र आँखा झिम्काउने पहाड, रबिन्द्र मानन्धरको लेखन तथा चित्रांकन रहेको अध्याय पुस्तक मन्त्रपुरकी माया र उर्मिला ढुंगाना सुवेदीको हजुरआमाको भान्छा कोठा नामक बालपुस्तकको विमोचन गरियो ।

पुरस्कार तथा सम्मानबाट सम्मानित एवं पुरस्कृत व्यक्तित्वसँगै विमोचित सबै पुस्तकमाथि सर्जक शैलेन्दुप्रकाश नेपालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रोल्पाबाट पुरस्कृत हुने बालगायक अमृत विक थिए भने विशेष अतिथि अग्रज बालसाहित्य सर्जक एवं नेबासासका संस्थापक तथा संरक्षक रामकुमार पाँडे थिए । नेबासासका महासचिव विष्णु केसीले उद्घोषण एवं सञ्चालन गरेको कार्यक्रममा नेबासासका अध्यक्ष विजयराज आचार्यले सभापति रहेका थिए ।

कार्यक्रमको आयोजकमा नेबासासका साथै पाटन संग्रहालय र सिविन नेपाल रहेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.