पुस १७ गते,पथरी । मोरङको पथरीशनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन मेची महाकाली मोटरसाइकल यात्रा थालेका छन् ।
आफ्नो नगरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्षको प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यकका साथ पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले विहिबार मेचीमहाकाली मोटरसाइकल यात्रा विहिबार पथरीबाट सुरु गरेको हो ।
यात्रा गर्नेलाई संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगरपालिका कार्यालयबाट शुभकामना सहित विदाई गरेका थिए । सो अवसरमा नगर उपप्रमुख वास्तोलाले अधिकारी र थापाले थालेको यात्राले पथरीशनिश्चरे नगरको पर्यटन प्रवद्र्धन सहित मुलुककै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास राख्दै खुसी व्यक्त गरेका थिए ।
पथरीशनिश्चरे नगरपालिका कार्यालय, वडा नम्वर १, ४ र ९, सामुुदायिक वन सहितको केही आर्थिक सहयोगमा यात्रा तय भएको छ । उनीहरुलाई नगरको विदाई अघि ९ नम्वर वडा कार्यालयले समेत विदाई गरेको छ ।
सामाजिक गतिविधिमा सक्रिय अधिकारी र थापाले नगरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन एउटै मोटरसाइकलमा यात्रा थालेको बताए । यात्रामा पर्यटकीय ठाउँहरुको अवलोकन गर्दै त्यहाँको फोटो र भिडियो संकलन गरेर अन्यत्रको पर्यटनको सम्भावनाको अनुभवनलाई आफ्नो नगरका ल्याएर जोड्ने उनीहरुको लक्ष्य रहेको बताएका थिए ।