साउन २६ गते, पथरी । मोरङको पथरीशनिश्चरेस्थित क्वारेन्टाइनमा रहेका एकजना पुरुषमा कोरोना भाइरस देखा परेको छ ।
नगरको क्वारेन्टाइनमा बसेकामध्ये भारतबाट आएका एकजना २६ वर्षीय पुरुषमा कोरोना देखिएको नगरप्रमुख दिलिपकुमार राईले बताए । गत शुक्रबार ६७ जनाको कोरोना पीसीआर परीक्षणका लागि प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगरमा स्वाब पठाइएकोमध्ये एकजनाको संक्रमण देखा परेको हो ।
यसैबीच, कन्ट्रयाक ट्रेसिङका आधारमा हिजो पथरीशनिश्चरे नगरका जनप्रतिनिधि, पत्रकार, सामुदायिक वनका पदाधिकारी तथा समाजसेवीहरु ७५ जना तथा क्वारेन्टिनमा बसेका २० जना गरी ९५ जनाको कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगर पठाइएको छ ।
यसअघि नगरमा ५ जनामा कोरोना देखापरेपनि सवैजना निको भएर घर फर्किसकेका छन् । सवैतिर कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेपछि नगरमा साउन २३ देखि ३२ गतेसम्म पुनः लकडाउन गरिएको छ ।