लक्ष्मी लम्साल
असोज ४ गते, बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल(चीन सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको भन्दै आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गर्ने जनाएका छन् । संविधान दिवसका अवसरमा आइतबार समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले यस्तो विचार राखेका हुन् ।
सन्देशमा सीले गत वर्ष आफू र राष्ट्रपति भण्डारीबाट भएको आपसी भ्रमणको पनि स्मरण गरेका छन् । भ्रमणबाट दौत्य सम्बन्ध मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारीमा उक्लिएको उनको भनाइ छ । दुई देशले कोभिड-१९ महामारीविरुद्ध सहकार्य गरेबाट आपसी मित्रता अझ सुदृढ तथा गहिरो भएको पनि सीले बताए ।
‘चीन–नेपाल सम्बन्धको विकासमाथि उच्च ध्यान दिनुका साथै राष्ट्रपति भण्डारीसँग विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गरी दुई देशका जनतामाझ अरू लाभ पुर्याउने इच्छा छ,’ उनले भने ।
त्यस्तै चीनका प्रधानमन्त्री ली खछ्याङले पनि आइतबार नै समकक्षी केपी शर्मा ओलीलाई संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् । नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी भएको बताउँदै उनले केही वर्षदेखि दुई पक्षबीच विभिन्न क्षेत्रको सहयोग स्थिर रूपमा अघि बढिरहेको उल्लेख गरे ।
लीले पनि नेपालसँग मिलेर महामारीविरुद्ध संघर्ष गर्नुका साथै विभिन्न क्षेत्रको सहयोग अघि बढाइएको बताए । ‘नेपाल–चीनबीच विकास तथा समृद्धि–उन्मुख युगीन मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अझ गहन पार्ने चीनको इच्छा छ,’ उनले भने । कान्तिपुरबाट